
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभीए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत आपूर्ति गराइएको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो ।
प्रशारण लाइनको परिक्षण र ट्रान्सफर्मरको चार्ज सफल भएको उहाँले बताउनुभयो । मिटरबक्स जडान र वायरिङ सकिएपछि घरघरमा केन्द्रिय लाइनको बिजुली बल्नेछ । छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा एक सय ५० घरपरिवारको बसोबास छ । धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार टोलमा गत बैशाखमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत लगिने भएको छ ।
यहाँका बासिन्दा हाल नन्दीबाङ खोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् । ट्रान्सफर्मर चार्ज र बत्ती बलेको खुसीयालीमा विद्युत प्राधिकरणका प्राविधिक बिजय विजय ठाकुर र ठेकेदार कम्पनीका कर्मचारीलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।
नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको उपभोक्ता समितिका अध्यक्ष भिमप्रसाद छन्त्याल, मल्कवाङ स्वास्थ्य चौकीका प्रमुख रुपक गिरी, स्थानीय अगुवा रविन्स घरब्जा र जनजागृति माविको व्यवस्थापन समितिका पुर्व अध्यक्ष दलमान छन्त्यालले खादा र माला लगाएर सम्मान गर्नुभएको थियो ।


म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं.–४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका एक सय ५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।
तीन सय ७० घरपरिवारको बसोबास रहेको लुलाङमा पनि गत जेठमा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्का मार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जा बाहेकका बस्तिहरुमा केन्द्रिय विद्युत सुविधा पुुग्ने केन्द्रका प्रमुख गामीले बताउनुभयो ।

