काउलेगौडामा मापदण्ड भन्दा कम चौडाईको कल्भर्टको पर्खाल सांसद हरि भण्डारीले भत्काइदिए

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्ड भन्दा कम चौडाईको कल्भर्टको पर्खाल अनुगमन टोलीले मंगलबार भत्काएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडा स्थित खोल्सामा निर्माणाधिन कल्भर्टको पर्खालको चौडाई ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएको अनुगमन टोलीले जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानिया सहितको टोलीले मापदण्ड भन्दा कम चौडाईको पर्खाल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

“मापदण्ड भन्दा कम चौडाईको पर्खाल भत्काउन पूर्वाधार विकास कार्यालयका प्राविधिकले दिएको निर्देशन मजदुरले नमानेपछि म आफै भत्काउन सुरु गर्नुपरेको थियो,” उहाँले भन्नुभयो “सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र फिनिसिङ राम्रो बनाउन निर्देशन दिएका छौ ।”

बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बि.बि.पी.एल. बि.एस. डि.एस धौलागिरीले गत असार महिनामा रु. दुई करोड २३ लाख ४६ हजार मा ठेक्का सम्झौता गरेको थियो ।

हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको योजना मार्फत तीन सय मिटर ढलान र एक हजार सात सय मिटर ग्राभेल सहित स्तरोन्नति गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख डा. बानियाले बताउनुभयो ।

टोलीले बेनी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका–९ को किराखोर देखि नेप्टेचौर हुदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नति योजनाको पनि अनुगमन गरेको छ । किराखोर–नेप्टेचौर खण्डमा भइरहेको प्रिमिक्स कालोपत्र गर्ने कामको अनुगमन गरेको टोलीले उक्त योजनामा सन्तोषजनक काम भएको जनाएको छ ।

आगामी असार महिनासम्म ठेक्काको म्याद रहेको उक्त योजनाको ६९ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाले बताउनुभयो । निर्धारित समयभित्रनै योजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मजदुर र उपकरण परिचालन गरेको निर्माण कम्पनीका प्रतिनिधी सुवासचन्द्र कार्कीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...