
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख १२ हजार भेटी सङ्कलन भएको छ ।
शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाका अनुसार बुधबार परेको बालाचतुर्दशी मेला भर्न आएका भक्तजनले रु. छ लाख बाह्र हजार चार सय ३१ भेटी चढाएका हुन् । उक्त भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोष, जनप्रतिनिधी, सुरक्षा निकाय र स्थानीयबासीको उपस्थितिमा गणना गरी बिहीवार सार्वजनिक गरिएको हो ।
बालाचतुर्दशी पर्वमा गलेश्वरधाममा करिब ३० हजार भक्तजन सहभागी भएका शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार गलेश्वर धाममा शतबीज छर्न यसपाली म्याग्दी, बागलुङ, पर्वत, पोखरा ,झापा, मोरङ, विराटनगर र काठमाडौँलगायतका जिल्लाहरूबाट भक्तजन आएका थिए ।


शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ । हरेक वर्ष मङिसर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।
देशभरबाट गलेश्वर शिवालयमा आउने भक्तजनलाई पालैपालो शिवालयको दर्शन गर्न र सहज रूपमा मन्दिर परिसरबाट पवित्र कालीगण्डकी नदीसम्म शतबीज छर्ने वातावरण बनाइएको थियो । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय विश्वकै अलौकिक तीर्थस्थलको रूपमा परिचित छ ।
यसैगरी बेनी सामुदायिक माविको कक्षा १२ का विद्यार्थीहरुले बिहिबार गलेश्वर मन्दिर परिसरमा सरफाई गरेका छन् । ४० जना विद्यार्थीहरुले छ घण्टा लगाएर सरसफाई गरेका बेनी सामुदायिक माविका शिक्षक भरत थापाले बताउनुभयो ।

