
गलेश्वर, दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रंग लगाइएको छ ।
गलेश्वर निवासी बमबहादुर पुनले व्यक्तिगत रुपमा करिब रु. चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो) रंग र गजुरमा सुनको जलप लगाउनुभएको हो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कोषको निर्णय र स्विकृति लिएर पुनले रंगरोगन र जलप लगाउनुभएको जानकारी दिनुभयो ।
कोषका उपाध्यक्ष समेत रहेका पुनले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योर्तीलिङ्गमा चाँदीको मुकुटले छोप्नुभएको थियो । जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु. एक लाख ५१ हजार, २७ लिटर सुनौलो रंग खरिद, ढुवानी र ज्यालामा रु. दुई लाख ३६ हजार खर्च भएको पुनले बताउनुभयो ।

गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको रहेको छ । यसअघि वि.स. २०७७ मा कोषको आन्तरिक आम्दानी रु. २७ लाख र सहयोगदाता रमेश शर्माको रु. पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोगमा गलेश्वर मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले वि.स. २०५५ मा रु. २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गर्नुभएको थियो ।

रंगरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्कीलो र आकर्षक देखिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।
गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्क्षा पूरा हुने विश्वास रहेको छ । गलेश्वर मन्दिरमा दाताले चढाउने भेटि र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ ।
यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार दुई सय वाट क्षमताको ‘हाईमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक संगितमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी पनि भएको छ ।

