
बेनी, । म्याग्दीको दरवाङ बजारदेखि नारायणघाट र कावासोतीसम्म माइक्रोबस यातायात सेवा सञ्चालन भएको छ ।
दरवाङ देखि बेनी, बागलुङ, कुश्मा, पोखरा, मुग्लीन हुदै नारायणघाट कावासोती र कावासोती देखि नारायणघाट मुग्लीन पोखरा बागलुङ बेनी हुदै दरवाङ सम्म इलेक्ट्रिक माइक्रोबस सेवा सुरु भएको हो ।

यातायात ब्यवसायी प्रेम श्रीसले नवलपुर र चितवन आवत जावत गर्ने पश्चिम म्याग्दीका बासिन्दाहरुको सहजताका लागि इभी माइक्रोबस यातायात सेवा सुरु गरेको जानकारी दिनुभयो । यो रुटमा यातायात सेवाका लागि १४ जना सिट क्षमताको तीन वटा एसी इभी माइक्रोको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

दरवाङ र नारायणघाटबाट हरेक बिहान ६ः३० बजे गाडी छुट्नेछ । प्रतिव्यक्ति भाडादर रु. एक हजार पाँच सय कायम भएको श्रीसले बताउनुभयो । नारायणघाटकै भाडामा कावासोती सम्मनै उक्त भाडामा यात्रुलाई सेवा दिने उहाँले बताउनुभयो ।
चितवनका अस्पतालमा उपचार गर्न जाने, चितवन, नवलपुरमा बसाई सराई गरेर गएकाहरुलाई जन्मथलोमा आउन जान गाडी परिवर्तन गर्नुपर्ने समस्या हटाउन सिधा यातायात सञ्चालन गरिएको हो । दरवाङ, बाबियाचौर, सिंगा तातोपानी, बेनी मंगलाघाट, पोखरा, नारायणघाट र कावासोतीमा टिकट काउन्टर राखिएको छ ।

