
बेनी, ः कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर पाँच महिनापछि दुईतर्फी यातायात चल्ने बनाइएको छ ।
कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा बर्खायाममा अवरुद्ध हुने, सवारी साधन फस्ने र दुईतर्फी गाडी चल्न नसकेर जाम हुने समस्या थियो ।
बेनी–जोमसोम–कोरला सडक योजनाले बर्खा रोकिएपछि सडक विभागको डोजर र लोडर परिचालन गरेर पहिरो पन्छाएर सडक फराकिलो पारि दुईतर्फी यातायात चल्ने बनाएको हो । दिर्घकालिन समाधान नहुँदासम्म अस्थायी रुपमा पहिरो पन्छाएर सडक फराकिलो पारि दुईतर्फी यातायात चल्ने बनाएको योजनाका सूचना अधिकारी ईन्जिनियर बिष्णु चापागाईले बताउनुभयो ।



सडक फराकिलो बनाएपछि जाम हुने समस्या हटेको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो ।
कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन् । मुस्ताङ र कोरला नाका जाने सवारी साधनको चाप बढेकाले पहिरोमा आलोपालो गरेर वारपार गर्दा जाम हुने समस्या थियो । असार महिनादेखि एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको थियो ।
सिरुवारीमा सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ ।
बेनी–जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ ।
बर्खायामभरी पहिरो पन्छाउदै यातायात सञ्चालन गरिएको थियो । सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको सडक योजनाले जनाएको छ ।
बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको नयाँ ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईले बताउनुभयो ।

