
सन्तोष गौतम
पोखरेबगर ः म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको बिविधिकरण र बजारीकरण हुन थालेको छ ।
कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरुको रोजाईमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सिमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदो खेती गर्ने किसानहरु उत्साहीत भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको विस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिले पहिले कोदो खेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो,” उहाँले भन्नुभयो “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।”

यसअघि धवलागिरी गाउँपालिका–७ ताकममा धौलागिरी बेकर, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पिठो प्रसोधन गरि बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।

रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको विस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाईसराई गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाहरुले कोदोको पिठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो ।

कोदोको बिस्कुटको माग ग्रामिण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको खड्काले बताउनुभयो । भुटेको कोदोको पिठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रति दर्जन (१२ वटा) कोदोको बिस्कुट रु. ६० का दरले बिक्री हुने गरेको छ ।
पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोशेली घर सञ्चालन र कोदोको विस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो ।
कोशेली घर स्थापना र कोदोको विस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले गत आर्थिक वर्षमा रु. दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले रैथाने बाली संरक्षण र प्रर्वद्धन कार्यक्रम मार्फत कोदो लगायतका खाद्य, दलहन बालीको खेती विस्तार, प्रसोधन, प्याकेजीङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु. १५ लाख बजेट बिनियोजन भएको छ । कार्यक्रम मार्फत उद्यमी तथा कृषकले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् ।
केन्द्रका अनुसार म्याग्दीको दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा वार्षिक तीन हजार तीन सय मेट्रिक्टन कोदो उत्पादन हुन्छ । समुन्द्रि सतहदेखि तीन हजार एक सय मिटर उचाईको भूगोलसम्म कोदो खेती गर्न सकिन्छ ।
क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिका देखि जेष्ठ नागरिकका लागि उत्तम खानाको रुपमा लिइन्छ । गर्भवति महिलाहरुको लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाको रोगीहरुको लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो ।
कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्र घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनील भण्डारीले बताउनुभयो । खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई बिबिधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाई छ ।

