
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएको छ ।
स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका हुन् । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले हरेक महिना स्वास्थ्यकर्मीहरु प्रत्येक टोलमा पुगेर सुगर (चिनीरोग) र प्रेसर (रक्तचाप)को परिक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
“जेष्ठ नागरिक, बालबालिका र विपन्नहरुलाई लक्षित गरेर स्वास्थ्यकर्मी टोलमै पुगेर स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाइएको हो,” उहाँले भन्नुभयो “रोगको पहिचान गरि उपचारको पहुँचमा ल्याउन टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बनेको छ ।”


गत आर्थिक वर्षमा यो कार्यक्रमबाट एक हजार दुई सय जना लाभान्वित भएका थिए । परिक्षणका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्षपनि आवश्यक सामग्री सहित स्वास्थ्यकर्मीलाई टोल टोलमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो ।
स्वास्थ्य संस्थामा पाइने औषधी लिएर टोलमा पुग्ने स्वास्थ्यकर्मीहरुले परामर्शका साथै निशूल्क औषधी उपलब्ध गराउने गरेका छन् । परिक्षणका क्रममा समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउने गर्छन् । टोलमा पुग्ने स्वास्थ्यकर्मीले बच्चाहरुलाई खोप, गर्भवति र नवजात शिशूको तौल पनि लिने गरेका छन् ।
टोलमै सेवा पाउँदा समयको बचत र उपचारमा सहज पहुँच स्थापित भएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतकी बिनाकुमारी तिलिजाले बताउनुभयो । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, छ वटा सामुदायिक स्वास्थ्य इकाई र दानामा आर्युवेद स्वास्थ्य केन्द्र छ ।
छरिएका बस्तिहरु रहेको र स्वास्थ्य चौकी तथा इकाईमा पुग्न घण्टौ हिड्नुपर्ने टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । तोकिएको समयमा गर्भपरिक्षण र संस्थागत प्रसुति हुनेलाई घरमै पुगेर भाले उपहार दिने गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई लगातार दोस्रो वर्ष शून्य अंकमा कायम राखेको छ । यहाँ आर्थिक वर्ष २०८१÷०८२ ७९ र २०८०÷८१ मा ९१ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् । आव २०७९÷८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

