
बेनी, ः बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजो सम्बन्धी बिरामीको उपचारका लागि रु. १२ लाख सहयोग गरिएको छ ।
‘लिभर क्रोहोसिस’ सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीहरुले उक्त रकम सहयोग गरेका हुन् ।

गत भदौ महिनादेखि सञ्चालन भएको अभियान मार्फत संकलन भएको रु. १२ लाख दुई हजार चार सय १२ बिहिबार मिमबहादुरलाई हस्तान्तरण गरिएको बेनी नगरपालिका–३ का अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

विगत १० वर्षदेखि बिरामी परेका मिमबहादुरको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि सहयोग जुटाइएको उहाँले बताउनुभयो । मिमबहादुरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
मिमबहादुरकी बहिनी दिया पुनले वडा कार्यालयको सिफारिसमा सहयोगको अपिल गर्नुभएको थियो । भकिम्लीका तारामिलन छन्त्याल, प्रकाश क्षेत्री, शेरबहादुर छन्त्याल, चित्र पुन, रेशम काउचा, रन्जिता पुन घर्ति, मिलन घर्ति लगायतका व्यक्तिहरुले प्रवासमा सहयोग जुटाउन समन्वय गर्नुभएको थियो ।

