जलजलाका उद्यमीलाई घुम्ती कोष मार्फत सहुलियत ब्याजदरमा बिना धितो ऋण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः पर्वतको जलजला गाउँपालिकाले उद्यमीहरुलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीहरुलाई रु. एक÷एक लाखका दरले ऋण उपलब्ध गराइएको हो ।
चार वटा किस्तामा फिर्ता गर्ने गरि वार्षिक सात प्रतिशत ब्याजदरमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएको गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले जानकारी दिनुभयो ।
“चार महिनापछि चार÷चार महिनामा रु. २५ हजारका दरले १६ महिनामा सबै रकम फिर्ता गर्ने गरी ऋण उपलब्ध गराइएको हो,“ उहाँले भन्नुभयो “आवेदन संकलन, उद्यमको स्थलगत अनुगमन, आवद्ध टोल विकास संस्थाको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा उद्यमी छनौट गरेका छौ ।”
वडा न. १ का गंगाकुमारी पाईजाले कुखुरापालन, ६ का छममाया खोर्जा पुनले बाख्रापालन ÷ तरकारी खेती, २ की चन्द्रकर्ली घर्ती क्षेत्रीले भैसीपालन, ८ की गुमा क्षेत्री, नारायण जि.सीले पशुपालन, ४ का जगतबहादुर घर्ती क्षेत्रीले माछापालन, ढकबहादुर घर्ती क्षेत्री, ८ का शिवबहादुर जिसीले कुखुरा÷माछापालन, ९ का बमबहादुर गर्बुजा मगरले पलास्टिक पोखरी निर्माण, ८ का गगनबहादुर महतले भैसीपालन, ३ की माया घर्ती क्षेत्रीले सौन्दर्य सामग्री ब्यवसाय र ७ का दुर्गा दमाईले तरकारी खेती÷कुखुरापालनका लागि ऋण पाउनुभएको हो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा बुधबार सम्झौता गरि उद्यमीहरुको खातामा रकम पठाइएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा नौ जनालाई रु. नौ लाख, २०८१÷०८२ मा २० जनालाई रु. १९ लाख ७५ हजार लगानी गरिएको घुम्ती कोष मार्फत चालु आर्थिक वर्षको फागुनमा थप आठ र असारमा पाँच जनालाई लगानी गरिने गाउँपालिकाले जनाएको छ ।
सहुलियत ब्याजदरमा बिना धितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।
पालिकाभित्रै व्यावसायिक रुपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षी पालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगार मूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिलेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...