
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङमा मंगलबार बजार अनुगमन भएको छ ।
मालिका गाउँपालिका, वडा नम्बर ६ को कार्यालय, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघको मालिका बजार इकाई समितिका प्रतिनिधीको उपस्थितिमा खाद्यान्न पसलहरुको अनुगमन भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनको नेतृत्वमा २० वटा खाद्यान्न पसलमा अनुगमन गरिएको वडा अध्यक्ष पथबहादुर रोकाले जानकारी दिनुभयो । अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएको करिब रु. ६० हजार मूल्य बराबरको वस्तु बरामद र नष्ट गरिएको उहाँले बताउनुभयो ।


“म्याद नाघेका र स्वास्थ्यका दृष्टिले हानिकारक खाद्य सामग्री बिक्रीका लागि राखेको फेला परेकाले बरामद र नष्ट गरिएको हो,” उहाँले भन्नुभयो “अन्य वडा र ग्रामिण क्षेत्रका पसलहरुको पनि अनुगमन गर्छौ ।”
विस्कुट, मिठाई, बालबालिकाले उपभोग गर्ने जंक फुड, जुस, चियापत्ति, पेय पदार्थहरु म्याद नाघेको भेटिएको वडा अध्यक्ष रोकाले बताउनुभयो । डिलरहरुले म्याद सकिएका र सकिन लागेका बस्तु विभिन्न स्किम बनाएर ग्रामिण क्षेत्रका पसलमा पठाउने गरेको स्थानीय ब्यापारीहरुले बताएका छन् ।
ब्यापारीहरुले पनि म्याद नहेरी सामान खरिद गर्ने र उपभोक्ताले पनि चासो नदिदाँ स्वास्थ्यमा खेलवाड भएको छ । मानव स्वास्थ्यमा खेलवाड नगरी गुणस्तरीय तथा स्वच्छ वस्तु मात्र बिक्री वितरण गर्न र उपभोक्तालाई सचेत हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

