
बेनी, ः मुस्ताङको लोमान्थाङ गाउँपालिकाले कोरला नाका हुदै हिन्दु, वौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको पवित्र तिर्थस्थल कौलाश मानसरोबार पुग्ने मार्ग खुलाउन पहल थालेको छ ।
कोरला हुदै मानसरोबार जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधीहरको चिनको ढोङ्वासेन जिल्लामा पुगेका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुई वटा स्थानीय तहका जनप्रतिनिधीहरु तिब्बती जनप्रतिनिधी र अधिकारीहरुसँग छलफलका लागि गएको बताउनुभयो ।
कोरला नाका हुदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी बिष्ट र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङ ल्होमो गुरुङ सहितका जनप्रतिनिधीहरु सहभागी छन् । यो भ्रमण जनप्रतिनिधीहरुको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताउनुभयो ।



“नेपाल र चिन सरकारका अधिकारीहरुसँग समन्वय गरेर कोरला नाका हुदै मानसरोबार पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौ,” उहाँले भन्नुभयो “हाम्रो पहलले सार्थकला पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक सम्बृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौ ।”
कोरला नाका हुदै कैलाश मानसरोबार, ल्हासा तिब्बत घुम्न जाने र चिनका वौद्ध धर्मावलम्बीहरुलाई कोरला नाका भएर लुम्बीनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताउनुभयो । कोरला नाका देखि कैलाश मानसरोबार तीन सय किलोमिटर र लाह्सा एक हजार किलोमिटर दुरीमा रहेको छ ।
कैलाश मानसरोवरको दर्शनका लागि कोरला नाकाबाट निकै छोटो, कम खर्चीलो र सहज हुने विश्वास गरिएको छ । वि.स. २०८० कात्तिक २७ गतेदेखि मुस्ताङबासिका लागि सामान किनमेल गर्न खुल्ला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो भने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चिन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ ।
पोखरा र काठमाण्डौबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै उपल्लो मुस्ताङ आएर कोराला नाका हुदै सवारीसाधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
मुस्ताङको बाटो हुदै कैलाश मानसरोवर जान काठमाण्डौबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुदै मुस्ताङको कोरला बोर्डर पुग्न सकिन्छ । हवाईमार्ग हुदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दुरी पार गरेपछि लोमन्थाङ हुदै करिब साढे ४ घण्टामा नेचुङ पुग्न सकिन्छ ।
नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिन्छ ।
तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधन समेत आधुनिक भएकाले यात्रा निकै सहज हुनेछ् । जोमसोमबाट उपल्लो मुस्ताङको कोरला नाकासम्म सडक सञ्जालमा पुगेकाहरू एक रात लोमान्थाङमा विताएर अर्कोदिन विहानै करिब आधाघण्टाको यात्रापछि मुस्ताङ र तिब्वतको नाकामा पुग्न पनि सकिन्छ ।
अहिले भारतीय मार्ग हुदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति रु. दुई लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ ।
हिन्दू धर्ममा शिवको वासस्थान भनिने कैलाश समुन्द्र सतहबाट छ हजार छ सय तीन मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहेको छ ।
कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट सेवा लिएर लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१३ जना जनप्रतिनिधिमण्डल कोरलानाका हुँदै एक साताका लागि चीनका ल्हासातर्फ प्रस्थान गरेका बताउनुभयो ।
“यस अध्यागमन कार्यालयबाट पहिलोपटक सेवा लिएर १३ जना जनप्रतिनिधिको टोली चीनको ल्हासा र कैलाश पर्वतका लागि प्रस्थान गरेको छ”, उहाँले भन्नुभयो । उक्त अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराइनेछ ।
यद्यपि सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि ५०० डलर प्रवेश शुल्क तोकेकाले केही प्राविधिक समस्या भने हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । कोरलानाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले अध्यागमन विभागले तोकेका अन्य शुल्क बुझाएमा भिसा निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।

