
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ दर र वडा नं.–४ मुदीमा दुर्लभ पंक्षी चिरकालीज भेटिएपछि संरक्षण अभियान थालिएको छ ।
नेपाल पंक्षीविद् संघले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालीजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी बिराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालीज भेटिएका छन् ।
“एक वर्षअघि गरेको अध्ययनका क्रममा दर र मुदीमा चिरकालिज भेटिएपछि संरक्षणका लागि विद्यालय र समुदाय स्तरमा चेतनामुलक कार्यक्रम सञ्चालन गरेका छौ,” उहाँले भन्नुभयो “दुर्लभ पंक्षी भएकाले चिरकालीजको महत्व जानकारी गराएर संख्या वृद्धि र संरक्षणको पहल थालिएको हो ।”


मुदीको वुद्धीविकास र मुनाको धवलागिरी माविका विद्यार्थीहरुलाई चिरकालीजको बारेमा अभिमुखीकरणका साथै हाजिरीजवाफ प्रतियोगिता भएको छ । रानीखोला र दरखोला सामुदायिक वन उपभोक्ता समुहका पदाधीकारी, सदस्य र स्थानीयबासीहरुलाई दरमा संरक्षण शिक्षा सम्बन्धी प्रशिक्षण दिइएका छ ।
जैविक विविधता संरक्षण समाजका अध्यक्ष लक्ष्मण पौडेल, पंक्षीविद् संघका केशव चोखाल र रजकले चिरकालीजको परिचय, महत्व र संरक्षणको आवश्यकताको विषयमा जानकारी गराउनुभएको थियो ।
“चोरीशिकारी, अनियन्त्रित डढेलो र जलवायु परिर्वतको बढ्दो प्रभाव चिरकालीज संरक्षणको चुनौति हो,” अध्यता चोखालले भन्नुभयो “चोरीशिकारीका अलावा, गुडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने अनियन्त्रित डढेलोका कारण चिरकालीज लोप हुने अवस्थामा छ ।”

संघले पछिल्लो पाँच वर्षयता दातृ निकाय ‘टुलेडोज’ुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिकाको साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसीनमा चिरकालीजको संख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्यक्रम गर्दै आएको जनाएको छ । कालीगण्डकी वेसीनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालीज भेटिएका थिए ।
दुर्लभ पंक्षीको संरक्षण गरेमा जैविक विबिधता, पर्यावरणका हिसाबले योगदान पुग्नुका साथै पर्यटक भित्र्याएर आयआर्जन र ग्रामिण अर्थतन्त्र सुधारमा सहयोग पुग्ने जैविक विविधता संरक्षण समाजका अध्यक्ष पौडेलले बताउनुभयो ।
समुद्री सतहबाट देखि एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालीज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । बैशाख, जेठ र असार चिरकालीजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

चिरकालीजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।
भिरमा नै वासस्थान बनाउने यो पक्षीले एकपटकमा सात देखि १५ वटासम्म फुल पार्छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको वासस्थान हो ।
नेपाल पंक्षीविद् संघले गरेको पछिल्लो अध्ययन अनुसार नेपालमा चिरकालीजको संख्या एक हजार भन्दा कम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख पंक्षीको रूपमा सूचीकृत गरेको छ ।

