
बाबियाचौर ः म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटामा बिहिबारदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सञ्चालन भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नौ वटा विद्यालयले सहभागीता जनाएका मंगला गाउँपालिकाका शिक्षा अधिकृत डिल्लीरामण सुवेदीले जानकारी दिनुभयो ।
छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । बिजेता विद्यालयलाई नगद रु. ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।


प्रतियोगितामा द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमश ः नगद रु. ३० हजार र रु. २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले विद्यालय स्तरमा खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खेलकुदले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रतियोगितालाई अनुशासीत र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले आबश्यक तयारीका साथ प्रतियोगिता सञ्चालन गरेको बताउँदै विद्यार्थीहरुलाई आफ्नो खेल प्रतिभालाई उत्कृष्ट रुपमा प्रदर्शन गर्न आग्रह गर्नुभयो । प्रतियोगिता सुरु हुनुभन्दा अघि सहभागी विद्यार्थी खेलाडीहरुले मार्चपास गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, वडा नम्बर २ का अध्यक्ष धनबहादुर खाती क्षत्री, वडा नम्बर १ का वडाध्यक्ष एकजित रोका, महेन्द्ररत्न मावि बरंजाका प्रधानाध्यापक कृष्णलाल सापकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीमा भएको खेल प्रतिभाको उजागर गर्न टेवा पुगेको बताउनुभयो ।
उद्घाटन खेल अन्तर्गत १५ सय मिटरको दौड प्रतियोगितामा छात्र तर्फ महेन्द्ररत्न माविका विवेक नेपाली प्रथम, मंगला माविका बुद्धीबहादुर विक द्धितीय र सिद्धशान्ती माविका हविन फगामी तृतीय हुनुभयो । छात्रा तर्फ शिसुकल्याण माविका थपसरा रोका प्रथम, मंगला माविका कृष्णकुमारी सापकोटा द्धितीय र महेन्द्ररत्न माविका प्रतिमा पुन तृतीय हुनुभयो । विजेता खेलाडीहरुलाई कार्यबाहक जिसस प्रमुख खत्री, गाउँपालिका अध्यक्ष रोका, उपाध्यक्ष क्षेत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

