
सन्तोष गौतम÷
बेनी ः पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न् । आवाजको भरमा मान्छे चिन्नुहुनछ । हिडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ ।
शारिरिक रुपमा अशक्त भएपनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाउनु भएको छ । कृषि फार्म शुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसीयामा श्रम र पसिना बगाउनुभयो । विदेशमा सोचेजस्तो सफलता मिलेन् ।
विदेशमा मेसीनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिएपनि हिम्मत हारिन,” उहाँले भन्नुभयो “खेतालाहरुलाई आइडिया दिएर काम गराइरहेको छु ।”

कृषि पेशाबाटै आत्मनिर्भर बनेका इन्द्रप्रसाद र उहाँकी श्रीमतिले सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ । कृषि फार्मबाट भएको आम्दानीले घरव्यवहार चलाउने र छोरीलाई काठमाडौमा विज्ञान विषयमा स्नातक तह अध्यापन गराउनुभएको छ ।


तरकारी बेचेर भएको आम्दानी उहाँले आँखाको उपचारमा खर्चिएपनि सफल हुनुभएको छैन् । इन्द्रप्रसादका अनुसार आँखाको समस्यानै पहिचान नहुँदा ठूला अस्पताल र नेत्र रोग विषेशज्ञहरुकहाँ पुगेपनि उपचार सफल नभएको हो । इन्द्रप्रसादलाई कामदार खोज्न भौतारिनु पर्दैन् ।
कामदार काम खोज्दै घरमै आउछन् । घरवरपरको २० रोपनी पाखोबारीमा सुन्तला बगैचा छ । हुर्कदै गरेका सुन्तला बगैचाभित्रको जमिनलाई सदुपयोग गरेर अन्तरेबालीको रुपमा बन्दा, काउली र अदुवा खेती गर्नुभएको छ । नजिकै ३० रोपनीमा ब्यवसायिक आलु खेती गर्नुभएको छ ।
गत वर्ष रु. चार लाख मूल्य बराबरको ८० क्विन्टल आलु बिक्री भएको इन्द्रप्रसादले बताउनुभयो । मौसमी र बेमौसमी तरकारीबाट थप आम्दानी हुन्छ । भैसी र बाख्रा पनि पाल्नुभएको छ । गाउँमै कच्चि सडक पुगेको हुँदा उत्पादन भएको तरकारी बजार पु¥याउन समस्या छैन् । फोन मार्फत माग संकलन गरेर बेनी, कुश्मा र बागलुङका ब्यापारीलाई तरकारी पठाउनुहुन्छ । ब्यापारीले खातामै पैसा पठाउँछन् ।

शारिरिक रुपमा अशक्त भएपनि हिम्मत नहार्ने हो भने सफलता हात पार्न सकिने सन्देश इन्द्रप्रसादले दिनुभएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । “आँट र साहास हुने तथा परिवारका सदस्यले साथ दिने हो भने ब्यवसाय र उद्यम गर्न शारिरिक अशक्तता बाधक बन्दैन भन्ने उदाहरण इन्द्रप्रसाद हुनुहुन्छ,” उहाँले भन्नुभयो “गाउँपालिकाले उहाँलाई खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।”
पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाले सुन्तला खेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

