अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तब्य

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सन्तोष गौतम
बेनी ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण शुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुन्द्रि सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाईमा परेको हो ।

पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रर्वद्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको संख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Shreekrishna

“अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रर्वद्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो,” उहाँले भन्नुभयो “युवा पुस्ताको रोजाईमा अन्नपूर्ण आधार शिविर परेको छ ।”

दसै लगत्तै आधार शिविरमा दैनिक दुई सय देखि पाँच सय जना सम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताउनुभयो । आधार शिविरमा दुई वर्षअघि सम्म बसन्त याममा हेलिकप्टर मार्फत आरोहीहरु मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमता भन्दा बढी संख्यामा पाहुना आएकाले ब्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकीङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताउनुभयो ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामाकरण गरेको थियो ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

वि.स. २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हिरक जयन्तिले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएको काठमाडौका सुदिप भट्टले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयबासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताउनुभयो ।

कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामाकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् ।
निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनी समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । पदयात्रीहरुले ताल र हिमाललाई पृष्ठभूमिमा पारेर डाडै डाडाँ हिडेको तस्विर खिच्न र भिडियो बनाउँछन् ।


एक लाख सात हजार छ सय ८४ बर्ग मिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख बिशेषता भएको बेनीकी सुस्मा खत्रीले बताउनुभयो ।
“वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लीत बनायो,” उहाँले भन्नुभयो “यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःख कष्ट र तनाव मुलेर मनमा उमंग छाएको छ ।”

आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको शालिक स्थापना र हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला संग्रहालय पनि रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ ।

गुफाफाँट र आधार शिविरमा एक÷एक वटा शौचालय निर्माण भएको छ । हुमखोला देखि साधीखर्क सम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ । नारच्याङका बासिन्दाले गत बसन्तयाम देखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रीया पुरा गरेर सरकारबाट अनुमति लिनुपर्छ । एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चार, पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनी बसोबासको ब्यवस्था मिलाउनुपरेको भुसकेतका होटल ब्यवसायी माइकल पुनले बताउनुभयो ।

होटलहरु नहुँदा पदयात्री आफैले बन्दोबस्तीका सामान बोकेर जानुपर्ने समस्या थियो । हुमखोला देखि माथि सञ्चार र विद्युत सुविधाको अभाव छ । सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्दार गर्न र पाहुनाको ब्यवस्थापनमा समस्या भएको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहोर व्यवस्थापन पनि यहाँको अर्को चुनौति बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ ।
गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माणका साथै प्रर्वद्धनमा स्थानीय तह, एक्याप, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताउनुभयो ।

“छोटो दुरिमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ,” उहाँले भन्नुभयो “सञ्चार र विद्युत सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहोर ब्यवस्थापन, झोलुङ्गे पुल लगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...