
बागलुङ, । मानवसेवा आश्रम बागलुङले अक्षयकोष स्थापना गर्नका लागि महायज्ञ गर्ने भएको छ ।
आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आश्रमको दिगो व्यवस्थापनका लागि १० करोड रुपैयाँको कोष निर्माण गर्ने योजना रहेको छ ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कसैलाई करकाप नगरि स्वतःस्फूर्त रूपमा सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा सहभागी गराउने, विद्यार्थीहरूका लागि सकारात्मक सोच र मानवता प्रवद्र्धनसम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजन–कीर्तन, कला र नाटक मञ्चन गर्ने योजना रहेको छ ।

पहिलो दिन (कात्तिक २१ गते) बाजागाजा, सांस्कृतिक कार्यक्रम, झाँकी, शंखनाद र भजनसहित शोभा कलशयात्रा गरिनेछ् । हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म भागवतभास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नुहुने भएको छ ।

साथै हरेक दिन गीत–संगीत, झाँकी, देवलिला, नृत्य, पञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय जप, तथा पाठ पारायणजस्ता कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
पर्वत, म्याग्दी र मुस्ताङ सहित बागलुङका सदस्यहरू मिलाएर १,००८ जनाको मुल समारोह समिति गठन गरिएको छ । समाजसेवी सहदेव राजभण्डारीको संयोजकत्वमा प्रारम्भिक समिति गठन भई पत्रकार सम्मेलनसमेत सम्पन्न गरिएको हो ।
कुँडुलेस्थित मुक्तिनाथ वेदविद्याश्रम, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र सत्तल निर्माणमा सहयोग गरिसकेका राजभण्डारीकै नेतृत्वमा यो महायज्ञ सञ्चालन हुन लागेको हो । कथावाचक पण्डित भास्कर कमलनयन गौतमले महायज्ञमा मुल कथा वाचन गर्नुहुनेछ ।
उहाँले यो महायज्ञलाई पैसा संकलनमा मात्र सीमित नराखी मानवसेवा र मानवताको उदारका लागि आम नागरिकलाई उत्प्रेरित गर्ने लक्ष्य रहेको बताउनुभयो । समितिका अध्यक्ष सहदेव राजभण्डारीको अध्यक्षता, सहसंयोजक तथा बानपाका उपप्रमुख राजु खड्काको स्वागत र महासचिव युक्तसाद सुवेदीको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न गरी करिब २०० जना आश्रितलाई सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ । साथै, आश्रमको अक्षयकोष १० करोड रुपैयाँ पु¥याउने, गण्डकी प्रदेशलाई सडकमानव–रहित प्रदेश बनाउने तथा नेपाललाई सहयोगीपेक्षी सडक–आश्रित मानवमुक्त राष्ट्र बनाउने संकल्प पनि गरिएको छ ।
