
बेनी, । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले मुस्ताङ स्थित चिनको सिमानामा रहेको कोरला नाकाको ब्यवसायिक सम्भावना अध्ययन गरेको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गण्डकी प्रदेशका जिल्ला उद्योग वाणिज्य संघको टोलीले आइतबार दुई हप्ताअघिदेखि सञ्चालनमा आएको कोरला नाकाको अध्ययन गरेका हुन् ।
समुन्द्रि सतहदेखि चार हजार सात सय मिटर उचाईमा रहेको कोरला नाकाबाट हाल भइरहेको आयात निर्यातको अवस्था, आवश्यकता र सम्भावनाको विषयमा अध्ययन गरेको टोलीमा सहभागी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि वि.स. २०८० कात्तिकदेखि मुस्ताङका बासिन्दाहरुको लागि मात्र किनमेलका लागि खुल्ला गरिएको कोरला नाका रसुवा र तातोपानी नाका बन्द भएपछि असोज महिनाको तेस्रो हप्तादेखि सञ्चालन भएको थियो ।
कोरला नाकालाई नियमित सञ्चालन गर्नका लागि सरकारलाई सुझाव दिन र व्यवसायिक सम्भावनाको आधारको अध्ययन गरिएको टोलीले जनाएको छ । महासंघका अध्यक्ष ढकालले नेपाल, चिन र भारतको त्रिदेशीय ब्यापारिक हिसाबले सम्भावना बोकेको कोरला नाका नियमित सञ्चालन गर्न पहुँचमार्ग कालोपत्र, मोटरेबल पुल निर्माणलाई पूर्णता, भन्सार र अध्यागमन कार्यालयको पूर्वाधार बनाउन सरकारलाई सुझाव दिइने बताउनुभयो ।
“चिनले धेरै पूर्वाधार तयार पारेपनि नेपालतर्फ आधारभूत संरचना तयार नहुनु यस नाकाको मुख्य चुनौति हो,” अध्यक्ष ढकालले भन्नुभयो “गण्डकी प्रदेश मात्र समग्र नेपालको हितमा रहेको कोरला नाकालाई निरन्तर सञ्चालन गर्न सकेमा पर्यटन, ब्यापार, ब्यवसायको क्षेत्रमा धेरै रोजगारी र अवसर सिर्जना गर्न सकिन्छ ।”
रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन भएको कार्यायल प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

उहाँले दुई हप्ताको अवधिमा सात सय ९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँच पास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताउनुभयो । यसैगरी यहाँबाट भित्रिएका तीन सय ११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये दुई सय ४६ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताउनुभयो ।
भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको छ । ठुलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन् ।

भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिनुभयो । चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैँको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ ।
