
ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पुननिर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ ।
जगन्नाथ अन्नपूर्ण ट्रष्ट कोष तथा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले मन्दिरको उद्घाटन गर्नुभएको हो । मन्दिर निर्माण कार्यको वि.स. २०७५ मंसिरमा तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री थाममाया थापा र पुर्व सांसद भूपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभएको थियो ।
वि.स. १२४६ देखि १५४५ सम्म तत्कालीन थापा राजाले राज्य सञ्चालन गरेको ताकमकोतमा वि.स. १८८२ मा नेपाल एकिकरण हुनुअघी मल्ल राजाहरुले शाषन गरेका थिए । सोहै शताब्दीमा निर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिर वि.स. २०७२ को भूकम्पले जिर्ण बनेपछि समुदाय स्तरबाट आर्थिक सहयोग जुटाएर पुनःनिर्माण थालिएको थियो ।


मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले मन्दिर पुननिर्माणमा उद्घाटन कार्यक्रम बाहेक रु. एक करोड १९ लाख ३१ हजार आठ सय ३३ खर्च भएको जानकारी दिनुभयो । रु. एक करोड १४ लाख पाँच हजार एक सय ३८ चन्दा संकलन भएको र रु. पाँच लाख २६ हजार छ सय ९५ अपुग भएको थापाले जानकारी दिनुभयो ।
पुरातत्व विभागको अनुमतिमा मन्दिरको पुरानो स्वरुप र ऐतिहाँसिक तथा धार्मिक पक्षमा असर नपर्ने गरेर मन्दिर पुननिर्माण गरिएको छ । मन्दिर भित्र जगन्नाथ र अन्नपूर्णको मुर्ती राखिएको छ । वि.स. २०७६ मै मन्दिर पुननिर्माण सकिएपनि आर्थिक संकलन र शिलालेख तयार पार्न समय लागेकाले उद्घाटन गर्न ढिलाई भएको अध्यक्ष थापाले बताउनुभयो ।
रु. पाँच हजार भन्दा बढी सहयोग गर्नेहरुको नामावली सहितको शिलालेखको स्तम्भ अनावरण गरेर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सहयोगदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । अन्नपूर्ण र जगन्नाथको मुर्ति भएको मन्दिरको छेउमा तत्कालीन थापा तथा मल्ल राजाका पालाका हातहतियार भण्डारण गरिएको कोतघरको पनि पुनःनिर्माण भएको छ ।

पुरातत्व विभागको रु. ५० लाख बजेटबाट ठेक्का मार्फत रामसिताको मन्दिर निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको रु. तीन लाख ५० हजार बजेट र हाल अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको अगुवाईमा दाताको रु. २४ लाख ४० हजार सहयोगमा १२ फिट अग्लो हनुमानको मुर्ती राखिएको छ ।

गण्डकी प्रदेश सरकार र सहरी विकास मन्त्रालयको बजेटबाट सडक देखि कोत परिसर पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।
म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।
तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ«े शृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।
कार्यक्रममा पुर्व प्रतिनिधीसभा सदस्य समेत रहेका गर्बुजाले पदमा नरहेपनि सधै म्याग्देली जनतासँगै रहेको बताउनुभयो । म्याग्दीमा विद्युत आपुर्ति र वितरण प्रणालीलाई सुधारको काम थालेको, वृहत घोप्टेखोला, पिप्ले–भगवती खानेपानी आयोजना शुरु भएको र ढोरपाटन जोड्ने सडकको ट्याक खनेर स्तरोन्नति योजना थालिएको जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र वडा अध्यक्ष अशोक खत्रीले पुननिर्माण र थप पूर्वाधार विस्तारसँगै ताकमकोत पर्यटकीय स्थलको रुपमा विकास भएको बताउनुभयो । ताकमकोतको विकास र प्रर्वद्धनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधि शर्माको अध्यक्षता र पुननिर्माण समितिका सहसचिव तेजेन्द्र थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा रिमप्रकाश थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

