
बेनी, मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायीहरु यसपाली फुर्सदिला भएका छन् ।
‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लीन र मुग्लीन–काठमाडौ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल ब्यवसायी राजन लामाले बताउनुभयो ।
“चाडपर्वको छुट्टी, पदयात्रा र तिर्थयात्राको उपयुक्त समय भएपनि यसपाली पाहुनाहरुको आगमन २० वर्ष यताकै कम भएको छ,” उहाँले भन्नुभयो “होटल र पर्यटकीय स्थलहरु सुनसान छ ।”
विगतका वर्षमा असोज महिनाको सुरुवातसँगै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुले बेनी, गलेश्वर, भुरुङ्ग–तातोपानी, दानाका होटलहरु भरिभराउ हुन्थ्ये । घटस्थापना अघि सोह् श्रद्धामा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तिर्थयात्रीको घुइँचो लाग्दथ्यो ।
सोह् श्राद्धको समयमा पनि यसपाली कागबेनी र मुक्तिनाथमा तिर्थयात्राका लागि आउनेहरुको संख्या न्युन भएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको संख्या पनि फाट्टफुट्ट मात्र भएका स्थानीय होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो ।
“मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकीङ रद्द गरेका छन,” उहाँले भन्नुभयो “विदेशी पर्यटक आगमन विगतको तुलनामा एक तिहाई पनि छैन । स्वदेशी पनि आएका छैनन् ।”
घोडेपानीमा बास बसेका पर्यटकहरु त्यहाँ देखि ३० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने समुन्द्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलमा सुर्योदय, हिमशृङखला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् । असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यतीकै संख्यामा स्वदेशी पर्यटक आउने गर्दथे ।
म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटलहरु छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घोडेपानी जोड्ने चित्रे–घोडेपानी सडक स्तरोन्नतिको क्रममा रहेको हुँदा सवारी साधनको असहजताका कारणले पनि आन्तरिक पर्यटकलाई समस्या भएको छ ।
बेनी–नगरपालिका–४ मा रहेको सिंगा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग– तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनीबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी संकलन गरिएको सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित छ । भुरुङ्ग–तातोपानी बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकहरुको लागि थकाई मेटाउने थलो हो । भुरुङ्ग–तातोपानीका होटल ब्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेशाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।
“दसैअघि पर्यटक आगमन निराशाजनक छ,” उहाँले भन्नुभयो “दसै पछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छोडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौ ।” भुरुङ्ग–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशबिन्दु पनि हो ।
