
बेनी, म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो ।
बैंकबाट गरिब तथा अतिविपन्न परिवार, प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएकालाई दसै, तिहार लगायत चाडपर्वको समयमा कपडा उपलब्ध गराउने बेनी नगरपालिका–७ का वडा सदस्य विश्वास श्रेष्ठले बताउनुभयो ।

लायन्स र लियो क्लव अफ बेनी लभ्लिहिलका प्रतिनिधीहरुले सोमबार बेनीमा घरदैलो गरेर बैंकका लागि आवश्यक पर्ने कपडा संकलन गरेर वडा कार्यालयलाई उपलब्ध गराएका छन् । पहिलो दिन दुई वटा बोलेरो गाडीमा अटाउने कपडा संकलन भएको लायन्स क्लव अफ बेनी लभ्लीहिलका अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो ।

“घरदैलोका क्रममा बजारबासीहरुले प्रयोगमा नभएका लगाउन योग्य तथा फेन्सी व्यवसायीहरुले नयाँ कपडा पनि उपलब्ध गराउनुभएको छ,” उहाँले भन्नुभयो “चाडपर्वको समयमा गरिव विपन्नलाई न्यास्रो नहोस भनेर थप कपडा जुटाएर एक÷दुई दिनमा वितरण गर्छौ ।”
आवश्यक पर्नेले वडा कार्यालयमा आएर आफूखुसी रोजेर लुगा लैजान पाउनेछन् । वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।
प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा बजारबासीले उपलब्ध गराएका छन् । जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्य पनि कपडा बैंक स्थापना गर्नुको रहेको छ ।
