
बेनी, गत हप्ता भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ ।
म्याग्दी जेसीजको आयोजनामा संगमचोकमा दिप प्रज्वलन गरिएको हो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ जना पुगेको छ । दिवंगतहरुको सम्मानमा बुधबार सरकारले देशब्यापी रुपमा शोक मनाएको छ ।

आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न, शान्ति स्थापनाको कामना र स्थानीय स्तरमा सद्भावको वातावरण बनाउन दिप प्रज्वलन गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष बिनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

जेसीजका पदाधीकारी र अग्रजहरुले दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुप्रति सिघ्र स्वास्थ्य लाभ र स्थायी शान्तिको कामनाका साथै सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षति प्रति दुख व्यक्त गरेका थिए । ‘जेनजी पुस्ता’ले उठाएको शुसाशन, भ्रष्ट्राचार, बेतिथिको अन्त्य र राजनीतिक स्थिरताको मुद्दालाई सम्बोधन गर्नुपर्ने सहभागीको भनाई थियो ।
