
बेनी, म्याग्दीमा कारागारबाट भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ ।
बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलवार सम्म १४ जना बाहेक सबै कारागार फर्काइएको जानकारी दिनुभयो ।

“मङ्गलवार पक्राउ भएका एक जना र आफै सम्पर्कमा आएका चार जनालाई कारागार पठाएका छौ,” उहाँले भन्नुभयो “फरार १४ जना कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ ।”
बेनीको कुमारी सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा र्पुपक्षका लागि कारागार चलान भएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा पनि कारागार फर्कनुभएको छ । काठमाडौबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । कारागारमा भएका ८८ जना मध्य महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिड्न नसक्ने बाहेक सबै ताला तोडेर भागेका थिए ।
