
बेनी, चिनको सिमानामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक दुई दिनपछि मङ्गलवार बिहान देखि सञ्चालनमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा आइतबार बिहान देखि सिधा यातायात अवरुद्ध भएको थियो ।
नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुपिएका ठुला ढुङ्गा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर राती साढे १० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीले बताउनुभयो ।
“बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेना सहितको सुरक्षाकर्मीहरुको टोलीले रातीसम्म काम गरेर सडक खुलाएका हौ,” उहाँले भन्नुभयो “सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् ।”


सडक अवरुद्ध हुँदा कोरला नाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रकहरु घाँसामै रोकिएका थिए । सोह् श्रद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तिर्थयात्री, स्थानीयबासी र पर्यटकहरु गन्तब्य तर्फ लागेका बेनी–जोमसोम कोरला सडक योजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दशैका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरला नाकाबाट ल्याउन थालिएको बेनी–जोमसोम सडकमा सवारी साधनको चाप बढेको छ ।
