
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका मुटुरोगी खिमबहादुर विश्वकर्माको उपचारका लागि रु. चार लाख ४६ हजार सहयोग जुटेको छ ।
आर्थिक रुपमा विपन्न बिकको उपचारमा आर्थिक अभाव भएपछि स्वदेश तथा विदेशमा रहेका लुलाङका बासिन्दाले सहयोग संकलन अभियान चलाएका थिए । अभियानका क्रममा हालसम्म रु. चार लाख ४६ हजार संकलन भएको लमसुङ माविका प्रअ शेरबहादुर बिकले बताउनुभयो ।
साउदीमा रहनुभएका पृथबहादुर बि.क.को नेतृत्वमा संकलन भएको रु. २५ हजार छ सय ५५ बाहेक सबै रकम बिरामीलाई उपलब्ध गराइएको छ । साउदीमा संकलन भएको रकम प्राप्त हुने क्रममा छ ।

अमेरिकामा तारा गौचनको अगुवाईमा संकलन भएको रु. एक लाख एक हजार वडा अध्यक्ष अकप्रसाद विश्वकर्मा र अभियानको संयोजन गर्नुभएका लमसुङ माविका प्रअ सेरबहादुर बि.क.ले सोमबार खिमबहादुरलाई हस्तान्तरण गरिएको छ ।

अस्टे«लीयामा अंकित मैकुते र दिपेश गुरुङ, साउदीमा पृथबहादुर बि.क., क्रोयोसियामा तेजिन्द्र मैकुते, मुना फलियागाउँमा रोशन गोतामे र पोखरा तथा बेनीमा आरति बि.क.को अगुवाईमा सहयोग संकलन अभियान सञ्चालन भएको थियो ।
३१ वर्षीय खिमबहादुरको मुटुको भल्ब फेर्नुपर्ने चिकित्सकले सुझाएका छन् । पोखराको गण्डकी अस्पतालमा उनको उपचार भइरहेको छ । खिमबहादुरका बुवा सेतेले गाउँमै आरने काम गर्दै आउनुभएको छ ।
एक छोरीका बुवा बनिसकेका खिमबहादुरकी श्रीमति गर्भवति हुनुहुन्छ । भल्ब फेर्नका लागि चिकित्सकले रु. छ लाख खर्च लाग्ने बताएका छन् । परिवारले खिमबहादुरको उपचारमा सहयोग गरेर जिवनरक्षाको लागि अपिल गरेका छन् ।
इच्छुक व्यक्ति तथा संस्थाले खिमबहादुर बिकको नाममा प्रभु बैंकमा रहेको ४३४८९३७९ नम्बरको खातामा सहयोग जम्मा गरिदिन अपिल गरिएको छ ।
