
बेनी, ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा आइतबार साँझ दिप प्रज्वलन गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था र जेनजी समूहको आयोजनामा साँझ बेनीको बिरेन्द्रचोकमा दिप प्रज्वलन गरिएको हो ।

आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न, शान्ति स्थापनाको कामना र स्थानीय स्तरमा सद्भावको वातावरण बनाउन दिप प्रज्वलन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

संघ संस्थाका प्रतिनिधीहरुले आन्दोलनमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुप्रति सिघ्र स्वास्थ्य लाभ र स्थायी शान्तिको कामनाका साथै सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षति प्रति दुख व्यक्त गरेका थिए । ‘जेनजी पुस्ता’ले उठाएको शुसाशन, भ्रष्ट्राचार, बेतिथिको अन्त्य र राजनीतिक स्थिरताको मुद्दालाई सम्बोधन गर्नुपर्ने सहभागीको भनाई थियो ।
