
बेनी, चिनको सिमानामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक आइतबार बिहानै देखि अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बिहान साढे नौ बजे खसेको पहिरो पन्छाउन सडक विभागको उपकरण सहितको टोली परिचालन भएको बताउनुभयो ।
सडकमा थुप्रिएका ठूला ढुङ्गाहरु पन्छाउन आज दिनभर लाग्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा कोरला नाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रकहरु घाँसामै रोकिएका छन् ।
सोह् श्रद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तिर्थयात्री, स्थानीयबासी र पर्यटकहरु सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् । सिन्धुपाल्चोक र रसुवाको नाका बन्द भएपछि दशैका लागि नेपाली बजारमा आवश्यक सामान गत हप्तादेखि कोरला नाकाबाट ल्याउन थालिएको थियो ।
