
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ का निर्वाचित वडा सदस्य यमबहादुर पुनले पार्टी र जनप्रतिनिधीको पदबाट राजिनामा दिनुभएको छ ।
भ्रष्ट्राचार र बेथितिको अन्त्य तथा बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनुपर्ने माग सहित जेनजी पुस्ताको सोमबार भएको आन्दोलनमा राज्यको दमन, १९ जनाको मृत्यु र तीन सय जना भन्दा बढी घाइते भएको घटनाप्रति असन्तुष्टि जनाउदै नेकपा एमालेबाट निर्वाचित पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।
“यो सरकार र एमाले प्रति मेरा असहमतीहरु थुप्रै छन । आजैको मिति बाट म जनप्रतिनिधी र एमालेको साधारण सदस्य समेत नरहेको र जेन जीको शान्तिपूर्ण आन्दोलनमा पूर्ण रुपले सर्मथन रहेको घोषणा गर्दछु,” उहाँले भन्नुभएको छ ।



भ्रष्ट्राचारले सिमा पार गर्नु, जस्तो सुकै अपराधी भएपनि आफ्नालाई जोगाउने र भ्रष्ट्राचारीलाई उन्मुक्ति दिएको, केपी ओलीमा भएको अहमता, घमण्ड र निरङ्कुशता बढ्दै गएकाले एमालेमा इमान्दार कार्यकर्ता भएर बस्न नसकेको पुनको भनाई छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई सम्बोधन गरेर उहाँले फेसबुकमा राजिनामा लेख्नुभएको हो । राम्चेमा एमालेको संगठन निर्माण र सामाजिक काम तथा उद्यमशिलता विकासमा लामो समयदेखि सक्रीय पुन दोस्रो कार्यकालका लागि वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले गाउँसभामा पनि सेवा, प्रवाह, विकास निर्माण र कर्मचारी तथा केही जनप्रतिनिधीको गलत क्रियाकलापको विरुद्ध आवाज उठाउदै आउनुभएको छ ।
