
बेनी, । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर बिहिबार स्थापना दिवस मनाएको छ ।
युनियनको ३६ औं स्थापना दिवसको अवसरमा बेनी नगरपालिका –५, बगुवाखोला स्थित बाल जागृती आधारभुत विद्यालयमा संचालित बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी, कांग्रेस प्रदेश सभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन, नेपाल निजामति कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदी लगायतले विद्यालयका प्रअ धनबहादुर क्षेत्री र विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो ।
उपसभापति भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कर्मचारी युनियनले गरेको सहयोग प्रशसंनीय रहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायत आधारभुत क्षेत्रमा अभिभावक, समाज र राज्य थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
रु. बीस हजार मूल्य बराबरको चामल, तेल लगायत सामाग्री वितरण गरिएको कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदीले बताउनुभयो । विद्यालयका प्रअ धनबहादुर क्षेत्रीका अनुसार बौद्धिक अपाङ्गता स्रोत कक्षामा २१ जना विद्यार्थी छन् ।
सहसचिव तारा बानियाँ (जगत)ले सञ्चालन र उपाध्यक्ष प्रदिप गौतमले स्वागत गर्नुभएको कार्यक्रममा कर्मचारी युनियन म्याग्दीका सल्लाहकारहरु किरणचन्द्र सुवेदी, सन्जिव बास्तोला, रमेश बस्नेत, अमृत कँडेल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति थियो ।
