
बेनी ः पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानहरुलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सिप हस्तान्तरण गरिएको छ ।
अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को आर्थिक, भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङको प्राविधिक सहयोग र छार्काताङसोङ गाउँपालिकासँग समन्वय गरेर नेपाल पश्मिना संघको टोलीले समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको डेमारको खर्कमा पुगेर किसानहरुलाई सिप सिकाउनुका साथै भुवा निकाल्ने आधुनिक औजार वितरण गरेको हो ।
बाह्य परजिवीको आक्रमणबाट जोगाउन, शरिरमा भएको भुुवालाई किटाणुुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुुवा निकाल्नुु अघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरिर डुुबाउने सिप सिकाउन स्थलगत तालिम र भुवा निकाल्न प्रयोग हुने ८५ थान आधुनिक काइयो वितरण गरेको काठमाडौ देखि म्याग्दी–मुस्ताङ हुदै डोल्पा पुगेर फर्किएको संघका उपाध्यक्ष चिरञ्जिवी काफ्लेले राससलाई जानकारी दिनुभयो ।


“मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुले उत्पादन गरेको च्याङग्राको भूवा खरिद गरेर बजारको सुनिश्चितताका साथै पश्मिनाको कच्चा पदार्थ आयात घटाउने अभियानमा छौ,” उहाँले भन्नुभयो “पश्मिनाका लागि उपयुुक्त र गुुणस्तरीय पुष्टि भएको च्याङग्राको भुवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन १० दिन लगाएर कृषकहरुलाई खर्कमै पुगेर सिप र प्रबिधी सहयोग गरिएको हो ।”
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणी अर्यालले छार्काका किसानहरुलाई च्याङग्राको शरिरमा भएको बाह्य परजिवी नष्ट गर्ने विषादी मिसाएको पानी राखिएको डिपिङ टंकीमा सुरक्षित तरिकाले डुुबाउने र च्याङग्रालाई नदुख्ने गरेर आधुनिक काइयोको प्रयोग गरेर भुवा निकाल्न सिकाउनुभएको थियो ।

संघले यसअघि गत जेठ महिनामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पश्मिना कृषक समूहलाई पनि स्थलगत तालिम प्रदान र भुवा निकाल्ने आधुनिक काइयो वितरण गरेको थियो ।

छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढोण्डुप र वडा अध्यक्ष ढावा लामा गुरुङले मितब्ययी हिसाबले डिपिङ टंकी बनाउने र प्रयोग गर्ने सम्बन्धी प्राविधिक तालिम कृषकहरुका लागि उपभोगी र गुणस्तरीय पश्मिना उपत्पादनका लागि सहयोगी भएको बताउनुभयो । च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो ।
सो क्रममा छार्काका किसानसँग मौज्दात रहेको दुई हजार पाँच सय किलोग्राम भुवा खरिद गरिएको र मुस्ताङ–डोल्पा सडकको भेरोलसम्म गाडी चल्न थालेपछि काठमाडौ लैजाने ब्यवस्था मिलाएर आएको नेपाल पश्मिना उद्योग संघका सदस्य सन्तोषप्रसाद अधिकारीले बताउनुभयो ।
नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । संघका अनुसार नेपालबाट वार्षिक रु. छ अरबको पस्मिना निर्यात हुन्छ । वार्षिक रु. पाँच अरब मूल्य बराबरको चार सय टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोट लगायत पर्यटकीय स्थलमा घुम्ने आउने पर्यटकहरुले रु. एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् ।

डोल्पा, मुस्ताङ, मुगु, हुम्लाका किसानबाट खरिद गरेर पश्मिनाको कच्चा पदार्थको विदेशबाट आयात घटाउने प्रयास गरेको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार पश्मिना ब्यवसायीहरु आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले मुस्ताङको लोमान्थाङमा भूवा संकलन र काठमाडौमा पश्मिना प्रशोधन केन्द्र सञ्चालन गरेको छ ।
