
बेनी । मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाको शनिबार बेनीमा सम्पन्न २५ औ साधारणसभाबाट मुकुुुन्दप्रसाद आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपसभापतिमा बिष्णु आचार्य, सचिवमा भिमकुमारी सुवेदी, सहसचिवमा दुर्गाराम सुवेदी, कोषाध्यक्षमा बिनोद श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा लक्ष्मी बिक, निर्मला श्रेष्ठ, हरि गिरी, पुष्पा पौडेल घिमिरे, भिम शर्मा र मुक्ति पौडेल चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा पूर्व शाखा सभापति ठाकुरप्रसाद शर्माले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले स्थान र अवस्था अनुसार मानव अधिकारको मुद्दा फरक फरक हुने बताउनुभयो । म्याग्दीको सवालमा जातीय विभेद मानव अधिकारको प्रमुख चुनौति रहेको उहाँको भनाई थियो ।

आर्थिक शशक्तिकरणको माध्यमबाट मानव अधिकारको वातावरण बनाउन सकिने नगर प्रमुख केसीले बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तिर्थराज न्यौपानेले राजनीतिक विषयलाई मात्र नभएर सामाजिक र वातावरणीय मुद्दालाई पनि संस्थाले अघि सारेको बताउनुभयो ।

समाजका पूर्व शाखा सभापति सञ्जयकुमार श्रेष्ठले म्याग्दीमा हुने अत्याधिक मेलाजात्रा र खेलकुदका कार्यक्रमले विद्यार्थीको पठनपाठन प्रभावित भएको र जसका कारण शैक्षिक क्षेत्रमा चुुनौति सिर्जना भएको विषयलाई समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
समाजका निवर्तमान शाखा सभापति हरिप्रसाद पौडेलको अध्यक्षता र सचिव बिष्णुप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व सभापति मुक्तिप्रसाद ढुंगाना र म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
