
बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन आयोजनाको बाँधमा खसेको पहिरोमा पुरिएका बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५÷४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर घाइते भएका भारतको गोपालगंगाका ५५ वर्षीय धरम कुसहवा, बिहार शासाराम जिल्लाका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका –७ का ४० वर्षीय कुमार थापामगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ ।



सर्लाहीको बागमती नगरपालिका –५ का ३२ वर्षीय गनेश बहादुर मगर र रोल्पाको सुनछहरी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ । बाँधमा काम गरिरहेको अवस्थामा एक्कासी भिरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आयोजनाका मजदुर, मौवाफाँट र बेनीबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार तथा मृतकको शव पहिरोबाट निकालेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोशियट्सका मजदुरहरु पहिरोमा पुरिएका हुन् ।
