
बेनी, ः कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन् ।
कोरोना महामारी सुरु हुनुअघि वि.स. २०७५ सम्म वार्षिक ७५ हजार बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ३० हजार आठ सय ६५ जना पर्यटकले म्याग्दीका पर्यटकीय स्थल घुमेका छन् ।


आर्थिक वर्ष २०८०÷०८१ मा ३१ हजार तीन सय ३४ र २०७९÷०८० मा २९ हजार तीन सय २८ र २०७८÷७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले भ्रमण गरेका थिए । छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने पर्यटकको अभिलेख भने राख्ने गरिएको छैन् ।
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ । घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले पर्यटक आगमन अपेक्षाकृत नभएको बताउनुभयो । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रर्वद्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु र भएका पर्यटकीय स्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको अध्यक्ष पुनको भनाई छ ।
आव २०७६÷७७ मा ५० हजार, आव २०७५÷७६ मा ७५ हजार एक सय ९१, २०७४÷७५ मा ७४ हजार सात सय ३३, २०७३÷७४ मा ६९ हजार आठ सय ३७ विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२÷७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार छ सय ३२ जना र २०७७÷७८ मा शून्य थियो ।
