
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत चिमखोला देखि पाखापानी र पात्लेखत गाउँमा केन्द्रिय लाइनको विद्युत विस्तार भएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभीए क्षमताको ट्रान्सफर्भर जडान सकिएपछि शनिबार भएको परिक्षण सफल भएको नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो ।
उपभोक्ताको घरघरमा मिटर जडान भएपछि विद्युतीकरणको काम सकिने उहाँले बताउनुभयो । पात्लेखेत र पाखापानीमा एक सय घरपरिवारको बसोबास छ । चिमखोला, नामीला टोलमा यसअघिनै केन्द्रिय लाइन पुगिसकेको छ ।

यहाँका बासिन्दाहरुले हाल उज्यालोका लागि लघुजलविद्युत परियोजना र सौर्य उर्जा प्रयोग गर्दै आएका थिए । विद्युतीकरणको जिम्मा लिएको निर्माण कम्पनी न्यू ढुङ्गाना निर्माण सेवाका सञ्चालक दिनेश ढुङ्गानाले बर्खा यामको प्रतिकुल मौसम, सडक यातायात अवरुद्ध भएको अवस्थामा पनि विद्युतीकरणको काम सम्पन्न गरेको बताउनुभयो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) र म्याग्दी १(१) बाट निर्वाचित अर्का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग समन्वय गरेर वि.स. २०७९ चैतमा विद्युतीकरणका लागि म्याग्दीमा हालसम्मकै धेरै बजेट भित्र्याउनुभएको थियो ।
यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं.–४ ओखरबोटका छ सय, धवलागिरी गाउँपालिकाको मलम्पारका एक सय ५०, बुलका ४५ र चिउरीबोटका एक सय ३० घरमा विद्युतीकरण भइसकेको छ ।
धवलागिरी गाउँपालिकाको लुलाङमा विद्युत लाइन पुगेपनि उपभोक्ताले मिटरबक्स जडान गर्न बाँकी छ । धवलागिरीको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्का मार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जा बाहेकका बस्तिहरुमा केन्द्रिय विद्युत सुविधा पुग्दैछ् । अन्नपूर्ण गाउँपालिका–८ मा रहेको पर्यटकीय स्थल मोहरेडाडामा पनि केन्द्रिय विद्युत सुविधा पु¥याउने योजना छ ।
