
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षा कोठा भवन लगायतका पूर्वाधार पहिरोले बगाएको छ ।
ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरो करिब छ सय मिटर माथि रहेको विद्यालय सम्म पुगेको हो । धाँजा फाटेर चिराचिरा परेको जमिन निरन्तर बगिरहेको छ । पुरानो भवन पहिरोको जोखिममा परेपछि करिब दुई सय मिटर माथी किमबोटमा अस्थायी भवन बनाएर शैक्षिक सत्र २०८२ देखि पठनपाठन सञ्चालन गरिएको थियो ।
हाल विद्यालय सञ्चालन भएको पाखोमा पनि जमिन धाँजा फाटेर चिरा पर्न र बग्नथालेपछि जोखिम बढेको प्रअ नविन कार्कीले बताउनुभयो । “स्थापनाकालदेखि विद्यालय सञ्चालन हुदै आएको ठाउँमा पहिरो आएपछि गत वैशाख महिना देखि नयाँ ठाउँमा विद्यालय सारेका थियौ,” उहाँले भन्नुभयो “केही दिनदेखिको निरन्तरको झरीसँगै पुरानो भवन, घेराबार, खेलमैदान बगाउनुका साथै हाल विद्यालय सञ्चालन गरिएको ठाउँसम्म जमिन चर्किएको छ ।”


पहिरो रोकथामका लागि स्थानीयबासी र विद्यालयले त्रिपालले छोपेर राखेका छन् । विद्यालय स्थानान्तरण गरेपछि खाली भएको भवनमा शिक्षकहरुले आवासका रुपमा प्रयोग गर्दै आएका थिए । चार÷चार कोठे दुई वटा पक्की भवन जमिन चर्कीएपछि ढल्ने अवस्थामा छन् । ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्चि भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । पहिरोले विद्यालयमा रु. तीन करोड भन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको प्रअ कार्कीले बताउनुभयो ।
किमबोटमा आर्थिक वर्ष २०८१÷०८२ मा मालिका गाउँपालिकाको रु. २० लाख अनुदानमा अस्थायी कच्चि भवन बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो । १३ कोठे नयाँ भवन नजिकै पनि पहिरोले जमिन धाँजा फाटेर चिरा, चिरा पर्न थालेकाले जोखिम बढेको प्रअ कार्कीले बताउनुभयो ।
वि.स. २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाले दुई सय जना विद्यार्थी छन् । ओखरबोट गाउँभित्र भवन बनाउन वि.स. २०८० मंसिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी, तीन आना, तीन दाम, दुई पैसा क्षेत्रफल जग्गा उपलब्ध गराउनुभएको थियो ।
ओखरबोट पुर्व उपप्रधानमन्त्रि एवम् गण्डकी र लुम्बिनीका पुर्व प्रदेश प्रमुख शेरचनको जन्मथलो हो । शेरचन दाजुभाईले सरकारीको मापदण्ड अनुसार रु. ४४ लाख ७७ हजार मूल्य पर्ने जग्गा निशूल्क उपलब्ध गराएपनि बजेट र योजनाको अभावमा उक्त जग्गामा भवन निर्माण हुन नसकेको प्रअ कार्कीले बताउनुभयो ।
