
बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालनको तयारी भएको ।
घरवास सञ्चालनको तयारी गरेको सयपत्री सामुदायिक घरवास समुहलाई आइतबार इको हिमालय संस्थाले बन्दोबस्तीका सामग्री सहयोग गरेको छ । वडा अध्यक्ष चक्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इको हिमालय संस्थाका कोअर्डीनेटर गौरव राईले सामग्री हस्तान्तरण गर्नुभयो ।
जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा २१ जना क्षमताको घरवास सञ्चालनको तयारी भएको समूहका अध्यक्ष सिता खत्रीले बताउनुभयो । पाहुना राख्नका लागि कोठा र शौचालय लगायतका पूर्वाधार तयार भएका छन् ।
संस्थाले वेड, विस्तारा र सरसफाईका लागि आवश्यक पर्ने करिब रु. छ लाख मुल्य बराबरको सामग्री सहयोग गरेको समूहले जनाएको छ । संस्था दर्ता भइसकेको छ । व्यवस्थापकीय र तयारी पुरा गरेर भदौको दोस्रो हप्तादेखि घरवास सञ्चालन गर्ने तयारी भएको छ ।


समुन्द्रि सतहदेखि एक हजार सात सय ५० मिटर उचाईमा अवस्थित तोरीपानीदेखि धौलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ । मसलेदार फल टिमुर खेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहाँसिक स्थल ढोलथान दरवार, धार्मिक स्थल पछै छन् ।
बेनी देखि नेप्टेचौर हुदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र सहित स्तरोन्नतिको क्रममा छ । तोरीपानी हुदै वाइसे चौवीसे राज्यको पालामा दरवार रहेको ढोलथान जोड्ने सडक संघीय सरकार र नगरपालिका मार्फत स्तरोन्नतिका लागि योजनाहरु सञ्चालन भएका छन् ।
बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तब्य बन्न सक्ने देखिन्छ । तोरीपानी हुदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । घरवासको माध्यमबाट पर्यटन प्रर्वद्धन, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष केसीले बताउनुभयो ।
