
बेनी, । प्रहरीले म्याग्दीमा एक वर्षको अवधिमा विभिन्न मुद्दाको अनुसनधानका लागि एक सय जना आरोपीहरुलाई पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयमा दर्ता भएका एक सय ३३ वटा मुद्दामा संलग्न एक सय जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलले ज्यान सम्बन्धी ४०, आत्महत्या २२, महिला तथा बालबालिका सम्बन्धी १३, सवारी ज्यान सम्बन्धी १३ र सामाजिक अपराध सम्बन्धी २४ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

लागु औषध सम्बन्धी दुई वटा मुद्दामा चार जना प्रतिवादी पक्राउ परेका छन् । चार वटा कर्तब्य ज्यान र ११ वटा जवरजस्ती करणी सम्बन्धी मुद्दाका प्रतिवादीलाई अदालतले १० वर्ष भन्दा बढी सजाय तोकेको छ ।

अदालतले विभिन्न समयमा गरेको फैसलाबाट दोषी ठहर भएका १८ जना प्रतिवादी पक्राउ गरे ६१ व्र्ष १६ दिन कैद र रु. ३५ हजार सात सय जरिवाना असुल उपर भएको छ । एक हजार नौ सय ५२ पटक गरिएको समुदाय साझदोरी कार्यक्रममा ३२ हजार दुई सय २९ जना सहभागी भएका छन् ।
गत वर्ष भएका १७ वटा सवारी साधन दुर्घटनामा १४ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार दुई सय ६५ सवारी साधनलाई कारबाही गरेर रु. ५८ लाख ७९ हजार राजस्व संकलन भएको छ ।
गत वर्ष भएका विपद्जन्य घटनामा आठ जना मासिनको मृत्यु, आठ जना घाइते र दुई जना वेपत्ता भएका छन् । १३ घर पूर्ण, १९ वटा आंशिक क्षति, तीन वटा उच्च जोखिम र १६ वटा जोखिममा परेका छन् । एक हजार एक सय १३ पशुचौपायाको मृत्यु, तीन वटा घाइते र १२ वटा वेपत्ता भएका छन् ।
पाँच वटा गोठ मा पूर्ण र चार वटामा आंशिक क्षति भएको छ । दुई वटा भौतिक संरचनामा पूर्ण र १७ वटामा आंशिक क्षति भएको छ । विपद्जन्य घटनाबाट रु. एक करोड १० लाख ७५ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीको अनुमान छ ।
