आस्थाको धरोहर, कठिन यात्रा, आनन्दित मन: दामोदरकुण्ड यात्रा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

निर्मल खत्री

असार २६ गते साझँ ८ बजेतिर मेरो मोबाइलको घण्टी बज्यो। केही समयपछि फोन उठाएँ, प्रिय साथी सागर भटराईको नम्बर रहेछ। उनले दामोदरकुण्डको धार्मिक यात्राको योजना सुनाए र मलाई पनि सँगै जान आग्रह गरे।

सागरले भने, “म भोलि बिहान ५ बजे पर्वतबाट हिँड्दैछु।” मैले सहर्ष स्वीकार गरें। उनले मुस्ताङसम्म जानुपर्ने र न्यानो कपडाहरू तयारी गर्न सुझाव दिए। म मुक्ति क्षेत्रसम्म जान्छु भन्ने सोचेको थिएँ, तर मुस्ताङसम्मको योजना सुनेर झनै उत्साहित भएँ।

Shreekrishna

बिहान ७ बजे सागर बेनीस्थित पसलमा आए। त्यसपछि हाम्रो यात्रा सुरु भयो। तिप्ल्याङमा नास्ता खाएर बेनी–जोमसोम सडक हुँदै यात्रा अगाडि बढ्यो। बाटोभरि वारी–पारीका मनोरम दृश्यहरूको अवलोकन गर्दै अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा तस्बिर खिच्यौं।

काभ्रेभिर पार गरेपछि हामी मुस्ताङ जिल्लामा प्रवेश गर्‍यौं। लेते र कालापानीबाट देखिने हिमशृंखलाले हामीलाइ मोहित तुल्यायो। ८६ किलोमिटर पार गर्दै हामी जोमसोम पुग्यौं। त्यहाँ अरु ६ जना साथीहरू हाम्राे पर्खाइमा थिए। सञ्जय कोइराला, प्रेम पौडेल, किसान पौडेल, सविन पौडेल, रमेश बलायर र रविन गुरुङसँग चिनापर्ची भयो।

सबै जना तयारी अवस्थामा थिए। खाना खाएपछि हामी सामग्री तयारी गरेर यात्रा प्रारम्भ गर्न लागेका थियौं, त्यतिबेलै मेरो पुरानो साथी महेन्द्र थकालीसँग भेट भयो। उनले दामोदरकुण्डको अनुभव सुनाए। आवश्यक सामग्री थप्दै हामी सागरको गाडी र अर्को गाडीमा यात्रा सुरु गर्‍यौं।

प्रथमपटक ड्राइभ गरेका सागरको अनुभवमा हामी बिस्तारै अघि बढ्यौं। रविनले चलाएको अर्को गाडी चाँडो थियो। विभिन्न स्थानमा रोकिनुका साथै फोटो, भिडियो खिच्दै करिब २ घण्टा ३० मिनेटको यात्रा पछि हामी चराङ गाउँ पुग्यौं। चराङ लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र हो। लुम्बिनी रेस्टुरेन्टमा खाजा खाएर केही सामग्री किन्यौं।

त्यहाँबाट लोमान्थाङ–कोरला सडक त्यागेर दायाँ मोडियौं। कालिगण्डकी नजिकै खोलामा गाडी चल्दै सुन्दर दृश्यहरू क्यामेरामा कैद गर्दै यात्रा गर्यौं। हामी ४ नं वडाको सुर्खाङ, यारा र घारा गाउँ पुग्यौं, जुन दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो। घारा गाउँको अन्त्यमा प्रख्यात लुरी गुम्बा अवस्थित छ।

२० मिनेट गाडीको यात्रा पछि हामी नौउजोम डाँडामा पुग्यौं, जहाँबाट हाम्रो पैदल यात्रा सुरु भयो। पहिलो दिनको आश्रय स्थल घिमीठाँटी पुग्न करिब एक घण्टा लाग्यो।

घिमीठाँटीमा केही तिर्थयात्रीहरू पहिल्यै आएका थिए भने केही फर्केका थिए। उनीहरूसँग अनुभव साटासाट गर्दै खाना पकायौं। रात्रिभोजनपछि बास बस्यौं।

दोस्रो दिन बिहान ५ बजे उठ्यौं। घोडाको व्यवस्था गरिएको थियो। घिमीठाँटीबाट ५२०० मिटर, दुधखोलाबाट ५७०० मिटरको उकालो यात्रा कठिन थियो। घोडा चढेर उकाली, पैदल ओराली गर्दै हामी अगाडि बढ्यौं।

घाराका पेमा छिरिङ गुरुङका अनुसार, यारा र घाराका घरहरूले तीर्थयात्रीलाई घोडामा लैजाने गर्छन्। प्रतिघोडा १० हजार रुपैयाँ शुल्क लाग्छ। हामी ५२०० मिटर उचाइ पुगेपछि चिसो हावा र समथर भूभाग देख्यौं। पेमा दाइले धेरै समय नबस्न आग्रह गरे।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

फेरि १.५ घण्टा ओराली हिँडेर ४७०० मिटरको भार्से खोलामा पुग्यौं। खाजाका पोका खोल्दै विश्राम गर्यौं। पुनः घोडामा चढेर ५७०० मिटरको उकालो यात्रा सुरु भयो। २.५ घण्टाको घोडा यात्रापछि डाँडामा पुग्यौं, जहाँ फोनको नेटवर्क थिएन र मौसम बद्लिँदै थियो।

दामोदरकुण्डको पहाड मुस्ताङ, ४ असोज : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल दामोदरकुण्ड आसपासको क्षेत्र । समुन्द्र

अन्ततः १.५ घण्टा ओराली हिँडेर दामोदरकुण्डको हरियाली भूभागमा पुग्यौं। सुन्दर दृश्यले थकान भुलायो। हिमचुचुराले घेरिएको उपत्यका मनमोहक थियो।

त्यही साँझ ४३ जना तिर्थयात्री धर्मशालामा बास बसे। कालिगण्डकीको मुहानसम्म गएर शालिग्राम सङ्कलन गर्यौं। धर्मशालाका कर्मचारी थन्डु गुरुङले जनशक्ति र बजेट अभावका कारण सेवा कठिन भएको बताए।

राति खाना बनाएर तीर्थयात्रीहरूलाई खुवायौं। तेस्रो दिन बिहान स्नानपछि मन्दिरमा पूजा गरी ७ घण्टाको यात्रा गर्दै घिमीठाँटी फर्कियौं।

धर्मशालामा निःशुल्क सेवा छ, तर आश्रय स्थल र सञ्चारको अभाव छ। देउराली डाँडाबाट मोबाइल सेवा नहुँदा आपतकालीन अवस्था सम्हाल्न गाह्रो पर्छ।

सरकारले पूर्वाधार सुधारमा पहल लिन जरुरी देखिन्छ।

प्रकृति र संस्कृतिको दोभान ः दामोदरकुण्ड

समुद्री सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर –४ को भूगोलमा पर्छ । दामोदर, भृकृटी, हिम चुचुराको खातको बिचमा दामोदरकुण्ड विराजमान छ । उत्तर, पूर्व र दक्षिण तीन दिशामा रहेका बाक्ला हिम चुचुराले घेरिएको बिशाल पाटन र उपत्यकामा अवस्थित, हिन्दु, बोन र वौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल दामोदरकुण्ड प्रकृतिको मनोरम संगम हो ।
पाँच वटा कुण्डहरु रहेको दामोदरकुण्डमा जनै पूर्णिमा पर्वमा मेला लाग्ने गर्छ । हिन्दू, बोन र बौद्ध सबै धर्मावलम्बीले आआफ्नो धार्मिक विश्वास र सांस्कृतिक परम्पराअनुसार निष्ठा र श्रद्धापूर्वक स्नान, पूजा, ध्वजा, लुङदार टाँग्ने, परिक्रमा, फुल र प्रसाद चढाउँछन । गोलो आकारको दामोदरकुण्डको तलाउको बिचभागमा फोटोमै उतार्न सकिने पहेँलो चक्रलाई हिन्दु धर्मावलम्बीका भगवान बिष्णुको सुदर्शन चक्रका रुपमा धार्मिकग्रन्थहरुमा व्याख्या गरिएको छ । कुण्डबाट निस्केको पानीले सुन र चाँदी नामका अन्य दुई कुण्ड निर्माण गरी पश्चिम–दक्षिणतिर बग्दछ ।


धेच्याङ खोलाको नामबाट बग्ने यो खोला काली गण्डकीको तीन प्रमुख शिरमध्ये सबैभन्दा महत्वपूर्ण शिर हो । मुक्तिक्षेत्रको शिर दामोदरकुण्डको पूर्वी ढिस्कोमा बौद्ध स्तूपा छ भने पश्चिम ढिस्कोमा विष्णुको मन्दिर छ । नजिकैको पहाड वौद्ध धर्मका लामाले लगाउने टोपी (ओरकिरी) आकारको छ । दामोदरकुुण्ड दर्शन र स्नान गर्नाले पुण्य र आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकांक्षा पुरा हुन जनविश्वास छ । दामोदर हिमाल र दामोदर कुण्डमा मृत्यु भएमा वैकुण्ठधाम पुगिने जनविश्वास छ । यस प्रकारको विश्वास भएर नै टाढाटाढाबाट विकट क्षेत्रमा अवस्थित दामोदरकुण्डमा तिर्थयात्रीहरु आउने गरेका हुन् ।


दामोदर हिमाल, मुक्तिनाथ हिमाल, दामोदरकुण्ड, कालीगण्डकी, मुक्तिक्षेत्र, कागबेनी र शालिग्रामलाई भगवान् विष्णुको बासस्थानको रूपमा लिइन्छ । गण्डकी देवी नदीको तपस्याअनुसार विष्णु गण्डकीको पुत्र शालिग्राम भएर यहाँ बसेका हुन् । हिन्दु धर्मग्रन्थ अनुसार यस क्षेत्रमा विभिन्न आकार र रंगमा पाइने शालिग्राम विष्णु भगवानका रूप हुन् । त्यसमध्ये दामोदरकुण्ड, गण्डकी नदीको शिर, शालिग्राम पहाडको खानी भएकाले भगवान् विष्णु विचरण गर्ने मूल थलो हो । यस क्षेत्रमा हिन्दु, वौद्ध र वोन धर्मका अन्य देवी देवता र लामाहरुले पनि तपस्या गरेको धार्मिक मान्यता छ ।
यहाँ कुशसहित अन्य घाँस, थरिथरिका फुलहरू र जीवनदायिनी जडीबुटी पाइन्छन् । दामोदरकुण्ड वरिपरि पाइने कुशको विशेष धार्मिक महत्व छ । वर्षाको समयमा यारा, घाराका किसानले भेडाच्याङ्ग्रा चराउन आफ्नो गोठ दामोदरकुण्डमा लैजाने गर्छन् । दामोदर कुुण्डको उपत्यका सुन्दर र मनमोहक छ । यात्राका क्रममा झारल, नाउर लगायत वन्यजन्तुहरुको बथान पाखामा रमाईरहेको देख्न सकिन्छ ।

मौसम र वातावरणीय हिसाबले जेठ देखि साउन महिना सम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । दामोदरकुण्ड जाने बाटोमा पर्ने अन्तिम मानव बस्ति यारा र घारामा होटल तथा धर्मशालाहरु छन् । कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै चराङ पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारी साधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ । घारा गाउँ देखि माथि घिमीठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले घोडा अथवा पैदलयात्रा गर्नुपर्छ । घिमीठाँटी देखि दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ, विद्युत, मोवाइल फोनको सुविधा छैन् । समुन्द्रि सतहदेखि पाँच हजार सात सय मिटर उचाइको दुई वटा डाडा पार गरेर दामोदरकुण्ड पुग्ने तिर्थयात्रीहरु धर्मशालामा बास बस्नुपर्छ । असार देखि भदौको दोस्रो साता सम्म सञ्चालन हुने यारा, घार, घिमिठाटी र दामोदरकुण्डको धर्मशालामा तिर्थालुहरुलाई निशूल्क भोजनको सुविधा हुन्छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...