
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारमा आर्थिक वर्ष २०८१÷०८२ मा रु. तीन करोड भन्दा बढी लगानीमा ३८ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन् ।
गाउँपालिका, प्रदेश, संघीय सरकार र अन्नपूर्ण संरक्षण आयोजना मार्फत रु. तीन करोड १० लाख ८० हजार दुई सय ७६ बजेट बिनियोजन भएका योजना कार्यान्वयन गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
“गण्डकी प्रदेश सरकारले ठेक्का मार्फत कार्यान्वयन थालेको चित्रे–घोडेपानी बाहेक ३८ वटा योजनाहरु उपभोक्ता समिति मार्फत निर्माण भएका हुन,” उहाँले भन्नुभयो “साविक घार गाविसमा तीनै तहका सरकारबाट भित्रिएका सबै योजना सतप्रतिशत कार्यान्वनय भएको छ ।”

समयमै सर्वेक्षण, लागत अनुमान तयार, सम्झौता र नियमित अनुगमन, सहजिकरण गरेर सत प्रतिशत योजना निर्धारित समयमै कार्यान्वयन गर्न सकिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । योजना कार्यान्वयनमा सहयोग गर्ने उपभोक्ता समिति, उपभोक्ता, प्राविधिक र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिकाबाट २८ वटा योजनालाई रु. एक करोड दुई लाख ७७ हजार दुई सय ७६, प्रदेश सरकारबाट चित्रे–घोडेपानी सडक बाहेक पाँच वटा योजनालाई रु. एक करोड ५१ लाख ३० हजार, संघीय सरकारबाट एक वटा योजनालाई रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट एक वटा योजनालाई रु. १६ लाख ७३ हजार बजेट बिनियोजन भएको थियो ।

घोडेपानी टोलमा ५६ लाख ८५ हजार, चित्रेमा रु. नौ लाख ९० हजार, खिवाङमा रु. ११ लाख, भगवती, धरमपानी र मैदानमा रु. २४ लाख, भुवानी टोलमा रु. २३ लाख २८ हजार, बिरौटामा रु. २१ लाख ७० हजार, पोखरेबगरमा रु. ७९ लाख ६० हजार बजेटका योजना कार्यान्वयन भएको छ ।
पोखरेबगर, बैसरी, कुरमुनी खानेपानी योजना निर्माणको अन्तिम चरणमा पुगेको, पर्यटकीय स्थल घोडेपानीमा सार्वजनिक सौचालय र प्रहरी चौकीमा शौचालय निर्माण गरिएको छ । पुनहिल क्षेत्रको लालागुराँसलाई संरक्षण गर्न घेराबार गरिएको छ । प्रदेश सरकार सँगको सहकार्यमा घोडेपानी–उल्लेरी सडक स्तरोन्नती गरिएको छ ।
घोडेपानीको आमा समुहलाई पोशाक वितरण गरिएको छ । चित्रे–घोडेपानी पदमार्ग निर्माण, चित्रेमा सभाहल निर्माण गरी फर्निचर व्यवस्थापन गरिएको छ भने चित्रेको स्वास्थ्य संस्थालाई रंगरोगन गरिएको छ । खिबाङ आधारभूत विद्यालयको भवन मर्मत गरी कम्प्युटर, ल्यापटप सहयोग गरिएको छ । खिबाङमा सभाहल व्यवस्थापन गरिएको छ । घारको मुक्तीमार्ग माविमा बाल उद्यान सामाग्री र विज्ञान प्रयोगशालाका सामाग्री खरिद गरिएको छ । मुक्तीमार्गदेखी गुराँसे र भूवानी थानमा पदमार्ग निर्माण गरिएको छ ।
घारको स्वास्थ्य चौकीमा स्तनपान र क्षयरोग कक्ष , घेरावार, प्रवेशद्धार निर्माण र कोटपाखामा आमा समुह भवन निर्माण गरिएको छ । मुक्तीपथ आधारभूत विद्यालयमा भवन, भुवानी आधारभूत विद्यालयमा घेरावार, भुवानी युवा क्लबको खेलमैदान निर्माण तथा, धरमपानीमा दलित भवनको सिलिङ निर्माण संगै शौचालय निर्माण गरिएको छ ।

पोखरेबगर आधारभूत विद्यालयमा प्रवेशद्धार र कोठा मर्मत गरिएको छ । रातोपानी कुण्डमा टहरा निर्माण संगै कुण्डको तटबन्धन गरिएको छ । कुरमूनी लुलिया खानेपानीको ट्याङकी निर्माण गरिएको छ । पोखरेबगर खेलमैदान तथा वस्ती संरक्षणका लागि ग्याविन जाली लगाईएको छ ।
