
बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नाम्दोकको चुम्जुङ खोलामा मंगलबार साँझ आएको लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पु¥याएको छ ।
नेपाल–चीन उत्तरी सीमावर्ती चुम्जुङ खोलामा साँझ ५ देखि ८ बजेसम्म करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यसैगरी त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठे पुल बाढीले बगाएर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिम रहेको खोलाको बिचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति भएको छैन् । बाढीको सतह राती ८ बजेदेखि मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा नौ जनाको टोली खटिएको छ ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सतर्कता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।

बर्षाबिनै चुम्जुङ खोलामा बाढी आएको हो । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी नर्वु गुरुङका अनुसार नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमश्रृखलाको छुआमापीक हिमाल फेदीमा पर्ने जाका हिमताल वा अन्य कुनै हिमताल फुटेर बाढी आएको अनुमान छ ।
लोमन्थाङ गाउँपालिका, ४ छोन्हुप देखी माथी रहेको छुआमापीक फेदीबाट आएको बाढी चुम्जुङ खोलाहुँदै तल छोसेरमा आएर कालीगण्डकी नदीमा मिसिएको छ । लोमन्थाङ गाउँपालिका, २ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङका अनुसार लोमन्थाङ क्षेत्रमा पछिल्लो एक साता देखी वर्षा भएको छैन । वडाध्यक्ष गुरुङका अनुसार विस ०४४ सालमा पनि छोन्हुप देखी माथी नेपाल–चीन सीमावर्ती मुस्ताङहिम श्रृखलाको छुआमापीक फेदीको एउटा हिमताल फुट्दा आएको बाढीले छोसेर नजिक नाम्सुङमा सयौं रोपनी खेतीयोग्य जमिन पुरेको थियो ।
सोही बाढी कालीगण्डकी नदी मिसिएर आएको बाढी पस्दा मुस्ताङसमेत म्याग्दीका दाना, तातोपानी, पोखरेबगर, तिप्ल्याङहुँदै बेनीको कालीपुल बजार डुवानमा परेको थियो । चुम्जुङ खोलाको बाढी का कारण जोखिममा परेका म्याग्दीस्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा सुकेबगर गुइठे भुरुङ तातोपानी पोखरेबगर ठूलोबगर महभिर तिप्ल्याङ बैसरी घुमाउने ताल तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् ।
मुस्ताङबाट आउने कालीगण्डकी नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुन सक्ने भएकाले सतर्कता अपनाउनका लागि स्थानीयवासीहरूलाई प्रशासनले आग्रह गरेको छ । कालीगण्डकीको तटीय क्षेत्रमा नजान र छेउछाउका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
