
बेनी, । म्याग्दीको बेनीमा रहेको प्रकाश माविका विद्यार्थीहरुलाई ‘हाउस वायरिङ’ सम्बन्धी सिप सिकाइएको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम अन्तर्गत तालिम सञ्चालन भएको हो । २० दिनसम्म सञ्चालन भएको तालिममा कक्षा ९, १०, ११ र १२ का ३० जना विद्यार्थी सहभागी भएका प्रअ लेखबहादुर हमालले जानकारी दिनुभयो ।
बेनीका अकिन्द्र मल्लले घर तथा भवनमा विद्युत जडान सम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागी कक्षा ९ का विद्यार्थी किष्टल सापकोटाले हाउस वायरिङमा रुची भएको र सिपका साथै प्राविधिक ज्ञान हासिल गर्न पाउँदा आत्मविश्वास बढेको बताउनुभयो ।

कक्षा १२ की उपासना थापाले तालिममा सिकेको आधारभूत सिपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफै स्वरोजगार बन्न पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । हरेक अपराहन्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।


माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ । यसअघिका दुई वर्ष प्रकाश माविमा बाजा बजाउने र कपाल काट्ने तालिम सञ्चालन भएको थियो ।
कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु. एक÷एक लाखका दरले रु. १६ लाख बजेट बिनियोजन भएको थियो । १४ वटा विद्यालयले कार्यक्रम कार्यान्वयन गरेका छन् । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका तीन सय ३० जना विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी भएका छन् ।
विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो । “माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचि अनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सिपमुलक तालिम सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने सहयोग पुग्नेछ ।”
नगर प्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारी, शिक्षा अधिकृत कमल ढकालको टोलीले आइतबार तालिमको अनुगमन गर्नुभएको थियो ।

