
बेनी, २२ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२ को अवसरमा आइतबार म्याग्दीका उत्कृष्ट चार जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनपा–२ खबराका चन्द्रबहादुर कार्की, बेनपा–५ बास्कुनाका सन्ध्या खत्री, मालिका–७ बिमका भुपेन्द्र शर्मा र बेनपा–७ कुरीलाखर्कका कृष्णप्रसाद शर्मालाई पुरस्कृत गरिएको हो ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले व्यवसायिक कृषि पेशामा आवद्ध चार जना कृषकहरुलाई प्रोत्साहनका लागि नगद रु. १०÷१० हजार सहित पुरस्कृत र सम्मान गरेको जानकारी दिनुभयो ।



जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोला लगायतले कृषकलाई नगद वितरण, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो । दिवसको अवसरमा सामुहिक धान रोपाई गरिएको थियो ।
म्याग्दीमा तीन हजार आठ सय छ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यसपाली मनसुन छिटो शुरु भएकाले म्याग्दीमा धान रोपाई ३५ प्रतिशत सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो ।
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।
लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ ।
रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ ।
