
बेनी, । बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट भएको आम्दानी विभिन्न सामाजिक काममा परिचालन हुदै आएको छ ।

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा रहेको गलेश्वरमा भक्तजनले चढाएको भेटि मन्दिरमा नियमित पुुजा, गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यालय सञ्चालन, जेष्ठ नागरिक आश्रम र संस्कृति विद्यालयका साथै स्थानीय विकास निर्माणमा पनि परिचालन भएको हो ।
गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि बेनी नगरपालिकासँगको साझेदारीमा रु. छ लाख सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहयोगमा नेप्टेचौर स्थित घतान स्वास्थ्य चौकीमा डिजिटल वोर्ड राखिएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । कोषले यसअघि चौकीमा स्तनपान कक्ष स्थापनाका लागि पनि रु. एक लाख सहयोग गरेको थियो ।
