जामुनाखर्कमा व्यवसायिक अरिंगालपालन सुरु

Gandaki Ghumau

बेनी, पाखो बारीको भित्तामा साना–साना प्वाल छन् । नजिक–नजिक रहेका प्वालभित्र फल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनी छन, अरिंगालका गोला । यो म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीको राहुवडा स्थित पाखोबारीको दृष्य हो ।

शाहीले नजिकैको जंगलबाट ल्याएर ११ गोला अरिंगाल पाल्नु भएको छ । अशोक र उहाँकी श्रीमति गिताले व्यवसायिक अरिंगालपालन गर्नुभएको हो । राहुवडामा खुर्सानी खेतीका लागि सम्माएको पाखोको भित्ता र जामुनाखर्कमा घरको र्बादलीमा उहाँहरुले अरिंगालपालन गर्नुभएको छ ।

“नयाँ किसिमको व्यवसाय गर्ने सोच अनुसार गत वर्ष जंगलबाट घरमा ल्याएर गरेको अरिंगालपालन सफल भयो,” गिताले भन्नुभयो “मौरी जसरीनै गोला स्थानान्तरण बिधीबाट अरिंगाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत पनि बनाउने प्रयासमा छौ ।”

Shreekrishna

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्ता रहेकी गिताको योजनालाई गाउँमै हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गरेका उहाँका श्रीमान अशोकले साथ दिनुभएको छ । उहाँहरुले जंगलबाट अरिंगालको गोला ल्याएर घर र पाखोबारीमा राख्नुभएको छ ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोग्रामसम्म अरिंगालको लार्भा निकाल्न सकिने शाहीले बताउनुभयो । “जंगलमा अरिंगालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेको छु,” अशोकले भन्नुभयो “अरिंगालले टोक्न नसक्ने कपडा लगाएर सेफ्टी बेल्ट प्रयोग गरेर रुखमा चढेर रानी सहितको अरिंगालको गोला ल्याएर पालेको हो ।”

Gunasthariya Shiksya

जंगलबाट ल्याएको अरिंगाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत राखेको ठाउँमा बस्ने गरेका शाही दम्पत्तीको अनुभव छ । बेनीका होटलहरुमा अरिंगालको लार्भाको परिकार बिक्री हुन्छ । अरिंगालको काँचो लार्भा प्रतिकिलोग्राम रु. तीन हजार पाँच सयका दरले बिक्री हुने शाहीले बताउनुभयो ।

गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाहीले यो वर्ष २५ वटा गोला पाल्ने र एक क्विटल लार्भा बेच्ने लक्ष्य राख्नु भएको छ । एक वटा गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ ।

पालेका अरिंगाल चरनका लागि जंगल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, फुल र फलफुल अरिंगालको आहारा हुन् । भरि परेको समयमा मासु र फलफुल आहराको रुपमा दिने गरेको शाहीले बताउनुभयो ।

शक्तिव्रद्र्धक मानिने अरिंगालको फ्राई गरेको लार्भा प्रति प्लेट रु. छ सयका दरले बिक्री हुने बेनीका होटल ब्यवसायी राजन लामाले बताउनुभयो । अरिंगाल बर्खा याममा बेनीमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ ।

अरिंगाल पाल्नु सजिलो काम भने होइन । गोला जंगलबाट सार्दा निकै सावधानी । “अरिंगाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ,” उहाँले भन्नुभयो “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवत जावत कम हुने ठाउँमा ल्याएर पालेको छु ।” रातो र कालो जातको अरिंगाल हुन्छन् ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले अरिंगालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताउनुभयो । “लार्भाका लागि गोला पोलेर अरिंगालको बंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण हुन्छ,” उहाँले भन्नुभयो “जोखिम भएकाले अरिंगालपालनमा सावधानी अपनाउन आवश्यक छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...