
बेनी, । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरुलाई अनुदान वितरण गर्न थालेको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को गाउँपालिकाको स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अनुसार छनौट भएका कृषकहरुलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्न थालेको हो । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा बुधबार गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्यले अनुदान वितरण कार्यको शुरु गर्नुभएको थियो ।
चालु आर्थिक वर्षमा दुई वटा शिर्षकमा रु. १३ लाख बजेट बिनियोजन भएको कार्यक्रम मार्फत तीन सय ६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरु पालेका कृषकहरु अनुदानका लागि छनौट भएका गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले बताउनुभयो ।


प्रतिगाई रु. दुई हजार र प्रतिहल गोरु रु. आठ हजारका दरले अनुदान वितरण गरिने उहाँले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पुरा गरेका कृषकहरुलाई छनौट गरेर रकम वितरण गर्न थालेको हो ।
स्थानीय जातको गाई संरक्षण, गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भीर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।
यो कार्यक्रम मार्फत आगामी आर्थिक वर्ष २०८२÷०८३ मा पनि रु. १३ लाख बिनियोजन भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । पछिल्लो कार्यकालका जनप्रतिनिधी निर्वाचित भएपछि आर्थिक वर्ष २०७९÷८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ ।
