
बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा रहेको राष्ट्रिय माविका विद्यार्थीहरुलाई कपाल काट्ने सिप सिकाइएको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र १० मा पढ्ने १५ जना विद्यार्थीहरुलाई उनिहरुको रुची अनुसार एक महिने कपाल काट्ने तालिम आइतबार सम्पन्न भएको शिक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने सिप सिकाइरहनु भएको छ । विद्यालयको नियमित कक्षाको पठनपाठन प्रभावित नहुने गरि दैनिक दुई घण्टाका दरले सिप सिकाइएको थियो । सहभागी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर चोखाल, प्रअ तारादेवी चोखाल लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।



माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न बेनी नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई चालु आर्थिक वर्ष २०८१÷०८२ मा हामी सक्छौ, हामी गर्छौ कार्यक्रमका लागि रु. एक÷एक लाखका दरले रु. १६ लाख बजेट बिनियोजन गरेको छ ।
१४ वटा विद्यालयले विभिन्न सिपमुलक तालिम सञ्चालन गरेका छन् । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब तीन सय ३० विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी भएका छन् ।

