
बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा एक सय ५७ वर्ष पुरानो सिचाई योजनाको नहरलाई पक्की बनाउन थालिएको छ ।
जलस्रोत, खानेपानी तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले अर्जममा वि.स. १९२५ मा निर्माण भएको सिचाई योजनाको नहरलाई पक्की बनाउन योजना सञ्चालन गरेको हो । वि.स. १९२५ मा निर्माण भएको साविक रत्नेचौर गाविसको पुरानो यो सिचाई आयोजनाको नाम पच्चिस साले सिचाई योजना राखिएको छ ।
उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्चि नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि बर्षौको प्रयासपछि आयोजना सञ्चालन गरेर पक्की नहर निर्माण र पाइपलाइन जडान गर्न थालिएको जानकारी दिनुभयो ।

“कच्चि नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पु¥याउन नसक्ने अवस्था थियो,” उहाँले भन्नुभयो “गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौ ।”


चालु आर्थिक वर्षमा रु. १० लाख बिनियोजन भएको योजनाबाट दुई वटा च्याम्बर र एक सय २५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताउनुभयो । उहाँका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा मंगलबारदेखि एक सय ६८ मिटर लामो दुई सय ५० एम.एम. (मिलिलिटर) क्षमताको पाइप जडान गर्न थालिएको छ ।
यसअघि वि.स. २०५१÷०५२ मा कामका लागि खाद्यान्न कार्यक्रम मार्फत मर्मत भएको नहर जिर्ण भएको थियो । बेनी नगरपालिका र स्थानीयबासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट एक सय ८० घरपरिवार कृषकको दुई सय १९ रोपनी जमिनमा बाह्ै महिना सिचाई सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर थापामगरले बताउनुभयो ।
आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले रु. ५० लाख लागत अनुमान सहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समितिका सदस्य चेतन थापाले बताउनुभयो । सिचाई सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यवसायिक बेमौसमि तरकारी खेती गरेर आयआर्जन गर्न सकिने उहाँले बताउनुभयो ।

महत्वपूर्ण र आवश्यक भएकाले योजनालाई जनप्रतिनिधीहरुसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल ईञ्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।
