
बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको सरस्वती माविका विद्यार्थीहरुलाई ‘हाउस वायरिङ’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।
बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रम मार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई घर तथा भवनमा वायरिङ गर्ने सिप सिकाइएको हो । तालिममा १९ जना विद्यार्थीहरु सहभागी थिए ।
२० दिनसम्म सञ्चालन भएको तालिम मंगलबार समापन गरिएको विद्यालयका प्रअ गुरुदत्त पौडेलले जानकारी दिनुभयो । बेनीका अर्जुन ढुङ्गानाले घर तथा भवनमा विद्युत जडान सम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजिकरण गर्नुभएको थियो ।


तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सिप हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । तालिममा सिकेको आधारभूत सिपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफै स्वरोजगार बन्न पनि सहयोग पुग्ने उहाँले भनाई थियो ।

विद्यालय समय भन्दा अन्य समयमा तालिम दिइएको थियो । बेनी नगरपालिकाको शिक्षा उपसचिव क्षेत्रबहादुर भण्डारी, बेनी नगरपालिका वडा नं–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मिनबहादुर बानियाले विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन तालिम प्रभावकारी भएको विश्वास गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक दिनेश बिष्टले गर्नुभएको थियो । तालिम सञ्चालन गर्न बेनी नगरपालिकाले रु. एक लाख सहयोग गरेको छ ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु. एक÷एक लाखका दरले रु. १६ लाख बजेट बिनियोजन भएको थियो ।

बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब पाँच सय जना विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।
