
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएको छ ।
कृषकहरुलाई व्यवसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा एक सय वटा मौरी सहितको घार वितरण गरेको हो । धवलागिरी गाउँपालिकाको कृषि शाखाका प्राविधिक अृमत थापाले वडा नं. –७ ताकममा ४७ र वडा नं.–५ मल्कवाङमा आठ वटा मौरीघार वितरण गरिसकेको जानकारी दिदै वडा नं–२ लुलाङ, वडा नं.–३ मुना र वडा नं.–४ मुदीमा थप ४५ वटा वितरणको तयारी गरेको बताउनुभयो ।
धवलागिरी गाउँपालिका–७ हिलापोखरीको हातेमालो कृषक समूहलाई १४ वटा र अन्य ठाउँका कृषकहरुलाई एक÷एक वटाका दरले मौरीघार वितरण गरेको उहाँले बताउनुभयो । हातेमालो कृषक समूह ब्यवसायिक मौरीपालनको उद्देश्य राखेर दर्ता भएको संस्था हो ।


ढुवानी सहित प्रति मौरीघार रु. नौ हजारका दरले खरिद भएको थियो । कृषकहरुले रु. चार हजार पाँच सय र गाउँपालिकाले रु. चार हजार पाँच सय खर्च ब्यहोरेका हुन् । अहिले मौरी वितरण भएको मध्य उपयुक्त स्थान छनौट गरेर मौरीपालन पकेट क्षेत्र स्थापना गर्ने योजना रहेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
मौरी पकेट क्षेत्रमा आहराका लागि तोरी खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ । उच्च पहाडी र प्रशस्त वनजंगज भएकाले धवलागिरीमा मौरीपालनको सम्भावना छ । प्रशस्त भिरमह पाइने यहाँ ब्यवसायिक रुपमा घरमौरी पालनको विकास हुन सकेको छैन् ।
सार्वजनिक सूचना जारी गरेर इच्छुक कृषकहरुबाट आवेदन संकलन र वडा कार्यालयको सिफारिसका आधारमा मौरीघार वितरण गरिएको हो । मौरीपालनको माध्यमबाट रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले यस वर्ष खेती कार्यमा यान्त्रिकरण गर्ने र लागत घटाउने उद्देश्यले ५३ वटा हाते ट्याक्टर (यान्त्रिक हलो) पनि वितरण गरेको छ ।
