
बेनी, । मुटु सम्बन्धी समस्याले थलिएका म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका ३१ वर्षीय खिमबहादुर बिकको उपचारमा आर्थिक अभाव भएको छ ।
आर्थिक अभावका कारण खिमबहादुरको मुटुको भल्ब फेरेर उपचार गर्न नसकिएको हो । मुटुको भल्बमा समस्या भएपछि खिमबहादुर एक वर्षदेखि पोखराको गण्डकी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

चिकित्सकले गत फागुनमा भल्ब फेर्नका लागि शल्यक्रिया गर्नुपर्ने भनेपनि आर्थिक स्रोत जुटाउन नसक्दा ढिलाई भएको स्थानीय लमसुङ माविका प्रअ शेरबहादुर बिकले बताउनुभयो । चिकित्सकले मुटुको भल्ब फेर्न रु. छ लाख खर्च लाग्ने बताएका छन् ।

खिमबहादुरका बुवा सेतेले गाउँमै आरने काम गर्दै आउनुभएको छ । एक छोरीका बुवा बनिसकेका खिमबहादुरकी श्रीमति गर्भवति हुनुहुन्छ । खिमबहादुरको उपचारका लागि सहयोग जुटाउन प्रअ बिकले व्यक्तिगत रुपमा रु. एक हजार सहयोग गरेर अभियान सुरु गर्नुभएको छ ।
परिवारले खिमबहादुरको उपचारमा सहयोग गरेर जिवनरक्षाको लागि अपिल गरेका छन् । इच्छुक व्यक्ति तथा संस्थाले खिमबहादुर बिकको नाममा प्रभु बैंकमा रहेको ४३४८९३७९ नम्बरको खातामा सहयोग जम्मा गरिदिन अपिल गरिएको छ ।
